राष्ट्रियसभा: लुम्बिनीमा तीन जनाको उम्मेदवारी दर्ता

दाङ,११ पुस ।

लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनकालागि तीन जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनबाट एमालेका राजु दशौंदी, कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेका दशौदी र काँग्रेसका आचार्य रोल्पा निवासी हुन् ।

यही माघ २५ गते लुम्बिनी प्रदेशमा निर्वाचनमा बुधबार तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता पक्ष गठबन्धनमै रहेपनि नागरिक उन्मुक्ती पार्टीले छुटै उम्मेदवारी दर्ता गराएको हो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठका अनुसार सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धन दल भित्र नरहेको बताइन ।

एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनकालागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

प्रदेश निर्वाचन कार्यालय दाङकाअनुसार उपनिर्वाचनका लागि माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र माघको १४ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै माघको १५ गते उम्मेदवारले नामावली फिर्ता लिने, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिए ।

प्रदेशका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २÷२ तथा राप्रपा र जनता प्रगतिशीलले १÷१ स्थानमा जितेका छन् ।

यसैगरी ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा, नागरिक उन्मुक्तिले ४÷४, जसपा, लोसपा, जनमतले ३÷३, जनमोर्चा र नेकपा एसले १÷१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर