सगरमाथा बोर्डिङका ३ सय विद्यार्थीको दाँत चेकजाँच

तुलसीपुर, ५ पुस ।

सगरमाथा बालबाटिका सेकेन्डरी बोर्डिङ स्कुल तुलसीपुरमा अध्ययनरत विद्यार्थीको दाँत चेकजाँच गरिएको छ । बालबालिकाहरूलाई दाँतजन्य रोगबाट जोगाउनका लागि दन्त शिविरको आयोजना गरेर ३ सय बालबालिकाको दाँत चेकजाँच गरिएको विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले जानकारी दिनुभयो ।

बि.आर डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा तुलसीपुर – ९ बेलुवा स्थित विद्यालयमा गरिएको शिविरमा अधिकांश बालबालिकाहरूमा दाँतमा कीरा लागेको, दाँत खिइएको, दाँत हल्लिएको, गिजा सुन्निएका समस्या देखिएका थिए । त्यसैगरी २० जना बालबालिकाको हल्लिएको दाँत फालिएको र अन्य ठूलो समस्या देखिएकालाई डेन्टल क्लिनिकमा बोलाइएको शिक्षीका पविता विश्वकर्माले जानकारी दिनुभयो ।

सो अवसरमा डाक्टर भुवन भुसालले बालबालिकाले बिस्कुट, चक्लेट जस्ता गुलियो चिजहरू खाँदा कीरा लाग्नुका साथै कम्जोर समेत हुने भएकाले सकभर नखान र खाएपछि तुरुन्त पानीले कुल्ला गर्नुपर्ने सुझाव दिनुभयो । जोडले बुरुस गर्दा दाँत छिटो खिइने भएकाले तलमाथि विस्तारै गर्नुपर्ने भन्दै जिब्रोमा भएको लेदो सफा गर्नका लागि त्यहाँ पनि बुरुसले घोट्नु आवश्यक रहेको डाक्टर भुसालले बताउनुभयो । शिविरमा डेन्टल असिस्टेन्टहरू सरू केसी, कल्पना केसी, आँचल हमाल, लगायतको टोली खटेको थियो । औषधिको व्यवस्था तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले गरेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर