आज थारु समुदायको अट्वारी पर्व मनाइदै

तुलसीपुर, १२ भदौ ।

थारु समुदायको दोस्रो ठूलो पर्व अट्वारी आज मनाइँदै छ । दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा कुशै औंशी पछिको पहिलो आइतबार यो पर्व मनाइन्छ । आजको दिन सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरुको कल्याण भएको मान्यता अनुसार आज सूर्यको पूजाआराधना गरिन्छ ।

यस्तै महाभारतको कथा अनुसार पाण्डव मध्येका भीम रोटी पकाउँदा पकाउँदै कौरवहरुसंग युद्ध लड्न गएका र युद्ध लडेर फर्किदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटेको किंवदन्ती अनुसार आज दिनभरी थारु समुदायका पुरुषहरु व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजाआजा गर्छन् ।

आज दिनभरी व्रत बस्नुपर्ने भएकाले व्रत बस्ने पुरुषहरुले गएराती भाले नबास्दै भिनस¥या अर्थात दर खाने चलन रहेको थारु संस्कृतविद् अशोक थारु बताउछन । आज अट्वारीको दिन माछामासु बाहेक रोटी, दूध, दही, तरुल, फलफूल लगायतका परिकार अग्निमा चढाई पूजा गरीने उनको भनाई छ ।

भोलिपल्ट बिहानै व्रतालु पुरुषहरु नजिकैको जलाशयमा गई स्नान गरेर रोटि, माछा, बिभिन्न तरकारीका परिकारहरु अग्निमा हवन गरेपछि शुद्ध पारी आफ्ना दिदीबहिनीका लागि कोशेली अर्थात अग्रासन छुट्याइन्छ । यसरी छुट्याइएको अग्रासन विवाहित चेलीबेटीको घरमा दिन जाने चलन रहेको थारुले बताए । दिनभरी परिवार र आफन्ती भेला भएर खानपिन गर्दै रमाईलो गरिन्छ । आपसी सद्भाव र शुभकामना प्रकट गरी मनाइने यस पर्वलाई आफन्त संगको भेटघाट, दुखसुख बाँड्ने र आत्मीयता बढाउने अवसरको रुपमा पनि लिइन्छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर