कोरोनाको सङ्क्रमणदर बढ्दै, तयारीमा सरकार सुस्त

काठमाडौँ, ३१ साउन ।

पछिल्लो समय नेपालमा दैनिक कोरोना सङ्क्रमित थपिने तथा मृत्यु हुने दर बढ्दै गएको छ । साउन यता मात्रै सङ्क्रमण दर तीन गुणाले बढेको छ । यसलाई कतिपयले कोरोनाको चौथो लहरको जोखिमको रुपमा लिएका छन् । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना सङ्क्रमणदर तीन गुणाले बढेर झण्डै १३ प्रतिशतमा पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सङ्क्रमितसँगै मृत्युदर पनि बढ्दै गएको छ । सङ्क्रमणदर बढ्दै गएकाले आगामी साताहरू जोखिमपूर्ण हुने विज्ञहरू बताउँछन् । आगामी साता गुणात्मक ढङ्गले सङ्क्रमण बढ्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुमान गरेको छ । परीक्षण बढाएर सङ्क्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्नु पर्नेमा एकजना चिकित्सक डा. भोजराज अधिकारीको सुझाव छ । विज्ञहरूले कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको सङ्केत गरेपनि सरकारले भने त्यसो भनेको छैन । सङ्क्रमण र मृत्युदर बढ्दै गएको यो अवस्थामा सरकार भने सुस्त गतिमा अघि बढेको देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले पहिले भएकै जनशक्ति र पूर्वाधारलाई थप सक्रिय बनाएर काम अघि बढेको बताउनुभयो ।चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्कनेको बढ्दो सङ्ख्या र बजारमा किनमेल गर्नेको भीडसँगै सङ्क्रमण अझै बढ्ने विज्ञहरूको अनुमान छ । त्यसैले व्यक्ति स्वयमले पनि घरबाहिर निस्कँदा मास्क लगाउने, साबुन पानीले हात धुने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर