अपांगता भयका ब्यक्तिहरुलाइ बाख्राका पाठी बितरण

शान्तिनगर,२१ असार ।
दाङको शान्तिनगर गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा पाठी वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरणका लागि राप्ती बहिरा संघ दाङको आयोजना, वडास्तरीय अपाङ्गता समन्वय समितिको सहआयोजना तथा तथा शान्तिनगर गाउँपालिका वडा नम्बर ६ को सहयोगमा १३ जना अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा पाठी वितरण गरिएको हो ।
वडाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जनमा पहुँच पु¥याई आर्थिक सशक्तिकरण गर्ने मुख्य उद्देश्यले वडा नं. ६ को पहाडीपुरमा बाख्रा पाठी वितरण गरिएको हो । बाख्रापालनबाट उनीहरू व्यवसायीमुखी बन्ने र आर्थिक आयआर्जनमा सहयोग पुग्ने भन्दै उनीहरूलाई बाख्रा वितरण गरिएको हो ।

वडास्तरिय अपाङ्गता समन्वय समितिका संयोजक गुरूप्रसाद लामिछानेको सभापतित्व तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवं पालिकाका उपाध्यक्ष प्रेमा बुढाथोकी र वडा अध्यक्ष शेरबहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा बाख्रा वितरण गरिएको हो ।

संस्थाका कार्यकारी निर्देशक प्रतिमा शर्माको स्वागत मन्तव्यबाट सुरू भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष बस्नेतले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउनका लागि गाउँपालिका सधै तत्पर रहेको बताए । अपाङ्गता भएका व्यक्तिहरूको सवालमा गाउँपालिकाले अभिभावकत्व ग्रहणमा प्रतिवद्ध रहेको बताए ।

गाउँपालिकाका उपाध्यक्ष प्रेमा बुढाथोकीले अपाङ्गता भएका व्यक्तिहरू पनि समाज परिवर्तनको संवाहक भएको बताइन् । अपाङ्गता भएका व्यक्तिहरूलाई आफूमा रहेको क्षमता र सीपलाई प्रयोग गरी आत्मनिर्भर बन्न सक्नुपर्ने बताइन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगीले अपाङ्गता भएका व्यक्तिलाई अन्य नागरिकले जस्तै सहज वातावरणमा बाँच्न पाउनुपर्ने बताइन् । सामान्य नागरिकहरूले जस्तै हरेक क्षेत्रमा अवसर पाउनुपर्ने, सेवा सुविधाहरू पाउनुपर्ने र जीविकोपार्जनका लागि आर्थिक तथा सामाजिक सशक्तिकरणमा समेत सहभागी गराउनुपर्नेमा जोड दिइन् ।

स्थानीय तहले ल्याएका नीति तथा कार्यक्रम र योजना तथा बजेटमा अपाङ्गताका सवालहरू समेट्न सके मात्रै अपाङ्गतामैत्री समाज निर्माण हुने बताइन् ।

कार्यक्रममा बहिरा अपाङ्गता भएका व्यक्ति डिल्ली सेजुवाल लगायत अन्य १३ जनालाई बाख्रा पाठी वितरण गरिएको थियो । श्रीमती पनि बहिरा भएको हुँदा भाषाको कारणले घर बाहिर गएर काम गर्न सहज नभएको सेजुवालले बताए । घरको आर्थिक अवस्था कमजोर भएको भन्दै उनले निःशुल्क प्राप्त गरेको बाख्रालाई आयआर्जनमा जोड्ने बताए ।

शारीरिक रूपले अपाङ्गता भएका कालुराम चौधरीले व्यवसाय सञ्चालन गर्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभावका कारण व्यवसाय सञ्चालन गर्न नसकेको बताए । आफूले प्राप्त गरेको बाख्रा पाठीको माध्यमबाटै आफूलाई व्यवसायसँग जोड्ने उनले सुनाए ।
कार्यक्रममा वडा सदस्यहरू लोक बहादुर वली, लिलावती विक, छपरी चौधरीलगायतले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक निकायले पहिलो प्राथमिकतामा राखेर कार्यक्रम तथा योजनाहरू ल्याउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सामाजिक अभियन्ता बसन्ती वलीले गरेकी थिइन्

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर