कानूनी सचेतना बाँड्दै मेट्रोका विद्यार्थीहरु

तुलसीपुर, २ जेठ । 

तुलसीपुर मेट्रो कलेजमा कानून पढ्ने विद्यार्थीहरुले विभिन्न सामुदायिक विद्यालयहरुमा कानूनी ज्ञान बाँडिरहेका छन् । कलेजको बिएएलएलबी कार्यक्रममा अध्ययरत विद्यार्थीहरुले विभिन्न पालिकाका विद्यालयमा पुगेर समसामयिक विषयको कानुनका बारेमा जानकारी गराएका हुन् । उनीहरुले साईबर कानून, बाल विवाह र महिला हिंसाका बारेमा कानूनी सचेतना प्रदान गरेको विद्यार्थी प्रविन यादवले जानकारी दिए । उनले ग्रामिण भेगमा रहेका विद्यालयमा पुगेर कानूनी सचेतना प्रदान गरेको पनि बताए । ‘कानूनी ज्ञानको अभावका विद्यार्थीहरुले नजानेर गैर कानूनी कामहरु गरिरहेका हुन्छन्, त्यसलाई नियन्त्रण गर्नका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं’ विद्यार्थी सरु चौधरीले भनिन् । उनले साइबर क्राइमका बारेमा विद्यार्थीहरुले जानकारी पाएपछि सजग भएर इन्टरनेट चलाउने प्रतिवद्धता समेत व्यक्त गरेको वताईन् । ‘विद्यार्थीहरुका लागि आवश्यक पर्ने कानूनी ज्ञानको अभाव पुरा गर्न कार्यक्रम निकै फलदायी भयो ’ विरेन्द्र मावि हेकुलीका प्रधानाध्यापक खिमराज खनालले जानकारी दिए । उनले कतिपय बालिकाहरु कानूनको ज्ञान नहुँदा आफु हिँसामा परेको समेत थाहा नपाउने अवस्था रहेको पनि वताए । ‘विद्यार्थीहरुमा कानूनी ज्ञान भयो भने आफुलाई अन्यायमा परे या नपरेको बारेमा थाहा पाउँछन्’ प्रधानाध्यापक खनालले बताए ।

विद्यार्थीहरुले विरेन्द्र मावि खिलतपुर, सिद्धपृथ्वी जनता मावि श्रीगाउँ, विरेन्द्र मावि हेकुली, मावि बालापुर, जनकल्याण मावि सिमसुन्दरपुर,विपि कोइराला मावि शान्तिनगर लगायतका विद्यालयमा करिब ५ सय विद्यार्थीहरुलाई कानूनी साक्षरता प्रदान गरेका थिए । दाङ्गका सबै स्थानीय तहमा यस खालको कार्यक्रम सञ्चालन गर्ने विद्यार्थीहरुले वताए । उनीहरुले कानूनी ज्ञान आजको आवश्यकता भएको हुँदा सबैले यसको बारेमा जानकारी राख्नुपर्ने कुरामा जोड दिए । कलेजमा अध्यययनरत ३० जना विद्यार्थीहरुले विभिन्न समूहमा विभाजित भएर कार्यक्रम सञ्चालन गरेका थिए । कलेजले विद्यार्थीहरुलाई परियोजनात्मक कामसँग जोड्नुका साथै सामाजिक उत्तरदायित्व बहन गराउँनका लागि यस खालको कार्यक्रम सञ्चालन गरिएको विएएलएलबी कार्यक्रम संयोजक गोपाल उपाध्यायले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर