तुलसीपुरमा पहिलो पटक साइकल लेन निर्माण

तुलसीपुर ३०-जेठ

 दाङको तुलसीपुरमा पहिलो पटक साइकल लेन निर्माण गरिएको छ । जिल्लाको मुख्य बजार तुलसीपुरमा साइकल यात्रुका लागि भनेर छुट्टै साइकल लेन निर्माण गरिएको हो ।

राप्ती राजमार्गबाहेक तुलसीपुरको मुख्य बजारका घोराही चोकदेखि त्रिशिद्देश्वरी मन्दिर हुँदै मदन आश्रित चोकसम्म, गुप्ता मेडिकलदेखि १९ नम्बर बाहिनी चोकसम्म, तुलसीपुरका ‘ख’ र ‘ग’ लाइन जोड्ने भित्री सडकलाई साइकल अंकित चिन्ह राखेर साइकल लेन छुट्याइएको छ ।

उक्त छुट्याइएको साइकल लेन साइकल यात्रुले मात्रै प्रयोग गर्ने छन् । जसले गर्दा सवारी दुघर्टनामा कमी आउने छ । साइकल लेन नहुदा दुर्घटनाको जोखिम धेरै थियो । अब भने साइकल लेन निर्माण भएपछि दुर्घटनाको जोखिमबाट बच्न सकिने भएको छ । साथै अन्य सवारी साधन उक्त क्षेत्रमा गुड्न वा पार्किङ गर्न पाउने छैनन् ।

त्यस्तै राजमार्गमा साइकलको छुट्टै लेन निर्माण गर्दा सडक डिभिजनबाट अनुमति लिनु पर्ने प्रावधान छ । जिल्लाका मुख्य बजारमा साइकल लेन निमार्ण हुदां यहाँका साइकल यात्रुहरु निकै हर्षित भएका छन् । लामो समयदेखिको आफूहरु जस्ता साइकलप्रेमीको प्रयासले सानो आकारमा भए पनि साइकल लेन निर्माणले सार्थकता पाएकोमा हर्षित भएको दाङ साइकल सिटीका उपाध्यक्ष तथा तुलसीपुर साइकल सिटीका अध्यक्ष खुमबहादुर न्यौंपानेले बताए ।

तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डेकै समयमा तुलसीपुर बजार क्षेत्रमा पाँच किलोमिटर सडक साइकलका लागि छुट्टाइएर साइकल लेन निर्माण गर्ने सहमति भएको थियो । उपमहानगरले थप तीन किलोमिटर सडकमा डेडिकेटेट लाइन निर्माण गर्ने निर्णय गरेको छ । तर, उपमहानगरपालिकाले आफूसँग डेडिकेटेट लाइन निर्माण गर्न आवश्यक बजेट नभएको भन्दै आफ्नो भागमा परेको तीन किलोमिटर सडकमा साइकल लेन निर्माण भने गरेको छैन् ।

 पछिल्लो समय साइकल वातावरणमैत्री हुनुका साथै शारीरिक अभ्यासका लागि चलाउने जमात जिल्लामा बढ्दै गएको छ । तुलसीपुर र घोराही उपमहानगरपालिकामा मात्रै करिब एक सय बढीले नियमित साइकल चलाउने गरेको जिल्ला उपाध्यक्ष न्यौंपानेको दावी छ । बजार क्षेत्रमा करिब दुई किलोमिटर सडकमा साइकल चालकको सुविधालाई मध्यनजर गर्दै डेडिकेटेट लाइन निर्माण गरिएपछि यहाँका साइकलिष्टहरू उत्साहित भएका छन् ।

आफूजस्ता साइकल चालकको आग्रह सुनेर ढिलै भए पनि तुलसीपुरमा डेडिकेटेट लाइन निर्माण गरिनुलाई सकारात्मक कदम मान्न सकिने साइकलिष्ट तथा निजामति कर्मचारी रश्मी अधिकारीले बताए । ‘यसअघि साइकल चालकका लागि तुलसीपुरका सडकमा कुनै यस्तो नोटिस थिएन,’ उनले भने, ‘यसले ठूला सवारी साधन जत्तिकै साइकलिष्ट तथा सर्वसाधारण साइकल चालकको पनि सडकमा समान अधिकार हुन्छ भन्ने मान्यता स्थापित गरिदिएको छ ।’

सडकमा हरियो पोतेको वा साइकलको चिन्ह देख्न थालेपछि त्यसले सर्वसाधारणमा पनि साइकल प्रतिको मोह र आवश्यकता बढ्न सक्ने उनको भनाई छ । डेडिकेटेट लाइन भएपछि ठूला सवारी साधनबाट पेलिने, हेपिने वा दुर्घटनामा पर्न सक्ने जोखिम कम हुने अधिकारीले जिकिर गरे ।

युएनडिपी र एनसीएलको आर्थिक सहयोगमा नेपाल साइकल सिटी नेटवर्कले तुलसीपुरमा छुट्टै साइकल लेन बनाइ दिएको हो । १० लाखको लागतमा साइकल लेन निर्माण गरेको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर