नेपालमा क्षयरोगका कारण बर्सेनि झण्डै ४५ हजार मानिसको मृत्यु
काठमाडौँ, १० चैत ।
नेपालमा बर्सेनि झण्डै ४५ हजार मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसका कारण सन् २०५० सम्म नेपालबाट क्षयरोग उन्मुलन गर्ने लक्ष्यलाई चुनौती दिएको छ । नेपालमा गत आर्थिक वर्षमा मात्रै २८ हजार ६ सय ७७ जना क्षयरोगका नयाँ बिरामी भेटिएका थिए । तर उपचारको पहुँचमा पुग्ने बिरामी, अनुमान गरिएको भन्दा कम रहेको राष्ट्रिय क्षयरोग निवारण केन्द्रका निर्देशक उपसचिव मुक्ति खनालले बताउनुभयो । दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा विश्वबाट क्षयरोगका बिरामी प्रतिलाख २० जनाभन्दा कममा झार्ने उद्देश्य लिएको छ ।
सन् २०३५ सम्ममा विश्वबाट क्षयरोगको अन्त्य गर्ने लक्ष्य छ । नेपालले उल्लेखित लक्ष्यहरूलाई आत्मसाथ गर्दै सन् २०५० सम्ममा क्षयरोगलाइ प्रति दश लाखमा एक भन्दा कम गर्ने लक्ष्य लिएको छ । तर नेपाललाई सन् २०५० भन्दा अघि नै क्षयरोग मुक्त देश बनाउने हो भने बिरामीलाई उपचारको पहुँचमा ल्याउनुपर्नेमा खनालको जोड छ । क्षयरोग, श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्छ । नेपालमा क्षयरोगको उपचारको लागि विभिन्न उपाय अपनाइएको छ । तर यसको निवारण र रोकथाम हुन नसकेकाका कारण वर्षेनी ४५ हजार भन्दा बढिको क्षयरोगकै कारण मृत्यु हुने गरेको छ ।