चुनाव लड्न ५० लाख रुपैयाँ व्यवस्थापन गर्न सीके राउतको उर्दी

सीके राउत नेतृत्वको जनमत पार्टीले चुनावमा कसैलाई कुनै खर्च नदिने भन्दै आआफ्नो चुनावका लागि आफै व्यवस्था गर्न उम्मेदवार हुन चाहने नेताहरुलाई निर्देशन दिएको छ । पार्टीको भातृसंगठन प्रेस जनमत संघका अध्यक्ष बीपी यादवका अनुसार चुनावको विषयमा छलफल गर्न बसेको बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यस्तो निर्देशन दिएका हुन् ।

वडाध्यक्षको उम्मेदवारका लागि सवा लाख, पालिका अध्यक्ष तथा मेयरका लागि प्रति वडा सवा लाख, प्रदेश सभा सदस्यका लागि २५ लाख र प्रतिनिधिसभा सदस्यका ५० लाख रुपैयाँ व्यवस्था गर्न पार्टीले निर्णय गरेको यादवले बताए ।
अध्यक्ष राउतले बैठकमा भने, ‘चुनावमा जो जो उम्मेदवार बन्छ, त्यसलाई पार्टीले एक रुपैयाँ दिने छैन । चुनावको खर्च आफैले व्यवस्था गर्नुपर्छ । चुनावका लागि मतदाता किन्न होइन, सामान्य खर्चका लागि रकमको व्यवस्था गर्नुस् ।’

त्यस्तै, दुई दिनदेखि धनुषाको ढल्केबरमा चलेको जनमतको विस्तारित केन्द्रीय समितिले कभरेज अभियान सफल भएको निस्कर्ष निकालेको छ । तराई मधेशमा मेचीदेखि महाकालीसम्म संगठन बनेको समेत ब्रिफिङ भएको छ । जनमत पार्टीले हालसम्म २ हजार ४ सय ६७ वडामा अधिवेशन सम्पन्न गरिसकेको छ । वडा अधिवेशनका लागि पार्टीले कभरेज अभियान चलाएको थियो ।

अब पार्टीले चुनावकेन्द्रीत बुथ मजबुत अभियान चलाउने निर्णय गरेको छ । ‘अपन बुथ सबसे मजबुत’ अर्थात् आफ्नो बुथ सबैभन्दा बलियो भन्ने नाराका साथ सो अभियान चलाउन लागेको संघका अध्यक्ष साहले बताए । बुथकेन्द्रीत अभियानका लागि केन्द्रीय नेताहरु चाँडै खटिने छन् । यसरी चुनावको मिति घोषणा नहुँदै सीके राउतले चुनाव प्रचारप्रसार सुरु गरिसकेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर