वडा नं. ३ को कार्यालय ‘वडा नं. ४’ मा खोजिदै
![](https://www.dangtvonline.com/wp-content/uploads/2020/12/t.jpg)
तुलसीपुर, २६ मंसिर ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ को वडा कार्यालय अहिले वडा नं. ४ चिराघाटबाट चलिरहेको छ । वडा कार्यालयकालागि नयाँ भवन निर्माणकालागि ३५ लाख रुपैँया बजेट बिनियोजन भएको छ । तर, अझै पनि वडा कार्यालय कहाँ बन्ने भन्ने टुंगो लाग्न सकेको छैन् । वडा कार्यालयले वडा कार्यालयलाई वडा नं. ४ चिराघाटमै बनाउने गरि प्रक्रिया अघि बढाएको छ । वडाध्यक्ष बुद्धिराम तिवारीले भने‘वडा कार्यालय अहिले वडा नं. ४ चिराघाटमै छ, नयाँ वडा कार्यालय बनाउनकालागि पनि हामीले चिराघाटमै जग्गा खोज्ने गरि गाउँपालिकालाई पत्र पठाएका छौं ।’
वडा नं. ३ मा कहिँपनि सेन्टर नपाएपछि वडा नं. ४ को चिराघाटमा नै वडा कार्यालय बनाउने प्रक्रिया अघि बढाउने तयारी गरेको उनको भनाई छ । सुविधा, सुरक्षाका हिसाबले पनि चिराघाट सहज हुने उनको भनाई थियो । तर, केही वडावासीले भने यसको विरोध गरेका छन् । स्थानीय राधिका परियारले भनिन्‘ अधेरे वा भलानेटीमा वडाको केन्द्र पर्छ, केन्द्रमै वडा कार्यालय राख्नुपर्छ ।’
वडाध्यक्ष तिवारीले भने अधेरे, भलानेटीमा सडक, सुरक्षा, नेट, ईन्टरनेटको सुविधा नभएकाले त्यहाँ सम्भव नहुँने बताए ।‘सेन्टरकै हिसाब हेर्ने हो भने त हल्ले, एकराते भन्ने ठाउँमा पर्छ, तर, त्यहाँ वडा कार्यालय राखेर भयो त, जनतालाई सहज पहुँच र सुविधायुक्त ठाउँ हुनु प¥यो नी’, उनले भने‘ अहिले हामीलाई उपयुक्त भनेको चिराघाट नै हो ।’ वडाका सबै जनप्रतिनिधिको सहमतिमा उक्त कार्य अगाडी बढाउन लागिएको समेत उनको भनाई थियो ।