मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते
तुलसीपुर २४-कात्तिक /
दाङको तुलसीपुरमा विभिन्न ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आज विहान साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गुल्म चोक स्थित तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा ५ प ६८६३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिंदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका वडा नं. ४ हस्नापुर निवासी ३३ वर्षीय भुव बहादुर विक र मोटरसाईकलको पछाडी सवार सोही ठाउँ निवासी ४६ वर्षीय सर्वजित विक घाइते भएको हो । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका – ६, हात्तीखौवामा बिजौरीबाट तुलसीपुर आउदै गरेको रा ३ प ९१९४ नंं को मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको रा ५ प ४००३ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएको प्रहरीले बताएको छ ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुर निवासी १९ वर्षीय विर बहादुर नेपाली घाइते भएका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । साथै तीनै जनाको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।