दाङको लकडाउनको स्वरुप ः दिउसो १२ बजेसम्म बैंक चल्ने, विकासका काम पनि हुने
तुलसीपुर, २१ भदौ ।
दाङमा सोमबारदेखि लकडाउनको स्वरुप परिबर्तन गरिएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि भदौ १४ गतेदेखि लकडाउन सुरु गरिएको हो । आईतबार राति १२ बजेपछि पहिलो चरणमा गरिएको लकडाउन सकिएसंगै सोमबारदेखि लकडाउनको स्वरुप परिबर्तन गरि एक हप्ता थप गरिएको छ । विहान ६ बजेदेखि दिउसो १२ बजेसम्म सम्पूर्ण व्यापार व्यबसाय सञ्चालन गर्न दिईनेछ । त्यो अबधीमा सीमित कर्मचारी राखेर सबै बैंक तथा बित्तिय संस्थाहरु पनि सञ्चालन गर्न पाईने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
उनका अनुसार विकास निर्माण सम्बन्धी कार्यहरु पनि गर्न पाईनेछ । तर, कामदारहरुलाई कार्यस्थल भन्दा बाहिर आवतजावत गर्न दिईनेछैन् । सार्वजनिक सवारी साधन चल्न नदिएपनि विहान ६ बजेदेखि दिउसो १२ बजेसम्म जोर÷विजोर लागु गरि सञ्चालन गर्न दिइनेछ । दिउसो १२ बजेपछि अतिआबश्यक (औषधी, खाद्य बस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु वा सेवा खरिदको काम साथै अत्याबश्यक सेवा सञ्चालन गर्न बाहेक) अन्य कुनै व्यक्तिले आवतजावत गर्न पाउने छैनन् । कुनै पनि भेला महोत्सव, जात्रा सञ्चालन गर्न मानिशहरु भेला, भीडभाड गर्न, सभा जुलुस गर्न गर्न पाईनेछैन् । नित्य पुजा बाहेकका धार्मिक सांस्कृतिक गतिविधिहरु गर्न नपाईने, होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्न नपाईने उनले बताए ।