बालिका बलात्कार आरोपमा एक युवक पक्राउ
रुकुम पश्चिम, ८ भदौ ।
बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चौरजहारी नगरपालिका–७ की एक १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक नम्बर वडाका १८ वर्षीय मदन गोसाइलाई प्रहरीले पक्रेको हो ।
सल्यानको कुमाख गाउँपालिकास्थित मामाघरबाट घर फर्किरहेकी उनलाई ती युवाले भेरी नदी किनारमा लगेर बलात्कार गरेको बताइएको छ । घर पुर्याइदिन्छु भनेर मोटरसाइकलमा चढाएर बालिकालाई सोमबार दिउँसो १ बजे भेरी नदी किनारमा लिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्मसिङ विष्टले बालिका कराएपछि केही महिलाले देखेर प्रहरीलाई खबर गरेको बताए । त्यसपछि लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनास्थलबाटै ती युवालाई पक्राउ गरेको प्रहरी निरीक्षक विष्टले बताए । बालिकाको स्वास्थ्य परीक्षण चौरजहारी अस्पतालमा गरिएको छ ।