बस्ती सारिदिन गुहार्दा-गुहार्दै ११ को मृत्यु : १३ घर पुरिए, २७ जना बेपत्ता
साउन ३१ सिन्धुपाल्चोक ।
माथिल्लो भेगबाट डाँडो भासिन थालेपछि लिदी, नाम्फा, सञ्च, झुल्के, निम्लुङ, बैगाङ गाउँका ५ सयभन्दा बढी परिवारले ‘हामी पहिरोको उच्च जोखिममा पर्यौं’ भन्दै सुरक्षित स्थानमा बास सार्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
लिदिको बस्तीमाथिबाट सोहोरिएर आएको डेब्रिजले पुरेको बस्ती । तस्बिरः सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय जिल्ला विपद् व्यवस्थापन समिति र जुगल गाउँपालिकामा उनीहरूले गत महिना बुझाएको निवेदनको जवाफ पाए– ‘आफैं सुरक्षित बस्नुस् ।’ विकल्प नै नदेखाई सर्नु भनेका आधारमा गाउँलेले वर्षामा अन्त जान आँट गरेनन् ।
पहिल्यै उच्च जोखिम आकलन गरेर डराइरहेको बस्तीमध्येकै जुगल–२ गोल्चे लिदीमा शुक्रबार पहिरोमा १३ घर पुरिएका छन् । घरसँगै पुरिएका ३८ मध्ये ११ जनाको शव भेटिएको छ । २७ जनाको खोजी भइरहेको छ । अविरल वर्षासँगै मास्तिरको पाखो बस्तीमा खसेको हो । बिहान साढे ६ बजे खसेको पहिरोमा परेको बस्तीबाट भागेर १५ जना बाँचेका छन् । ज्यान जोगाउन भाग्दा घाइते ५ जनालाई सेनाको हेलिकप्टरमा उपचारका लागि पठाइएको छ ।
फेला परेका शवको सनाखत हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । पहिरोबाट जोगिन भाग्दा घाइतेमध्ये ४ लाई चौतारा र एक जनालाई सेनाको हेलिकप्टरमा काठमाडौंको सिभिल हस्पिटल पठाइएको छ । घटनास्थल दुर्गम भेगमा पर्छ । निरन्तरको वर्षाले सडक भास्सिँदा एक्स्काभेटर तत्काल ल्याउन सम्भव नहुँदा बेपत्ताको खोजी गर्न गाह्रो भएको डीएसपी माधवप्रसाद काफ्लेले बताए । ‘पुरिएका ठाउँमा कुटो, कोदालो, साबेल प्रयोग गरेर पनि बेपत्ताको खोजी भइरहेको छ । सेना, प्रहरीदेखि स्थानीय सबै मिलेर खोजी गरिरहेका छौं,’ उनले भने ।
गत महिना माथिल्लो भेगबाट डाँडो भासिन थालेपछि स्थानीय आशबहादुर दोङ सपरिवार केही दिन छिमेकी गाउँमा शरण लिएर बसेका थिए । वर्षा थामिएजस्तो देखिएपछि घर फिरे । गाउँले मिलेर गाउँपालिकामा गई सुरक्षित ठाउँमा सर्ने व्यवस्था मिलाइदिन आग्रह गरे । ‘सरकारकै बेवास्ताले यी सबैको ज्यान गएको हो । यहाँ पहिरोको जोखिम छ, बस्न सकिँदैन भनेर कति भन्यौं कति,’ उनले भने ।
‘अन्यत्र गएर बस्न जग्गा थिएन । सधैं अरूको गाउँमा बास दिँदैनन्, सरकारलाई गुहारेकै हो, यही पहिरोमुनि फर्कनैपर्यो, यस्तो दुःखद घटना घट्यो,’ दोङले भने । गत महिना नै गाउँलेले गरेको अनुरोधलाई सरकारले नसुनेको उनले गुनासो गरे । गाउँ जोखिममा परेको भन्दै अहिले पुरिएका परिवारसहितका स्थानीयले जिल्ला विपद् व्यवस्थापन समिति र गाउँपालिकामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।
गुहार माग्दा पनि जोखिमको अध्ययन नगर्नु र बस्ती नसारिएकाले ठूलो क्षति बेहोर्नुपरेको स्थानीय सुनमाया तामाङले बताइन् । ‘सुरक्षित ठाउँमा गएर बस्नु भनेका हुन् तर हामी कहाँ गएर बस्नु ?,’ उनले भनिन् । एक महिनादेखि पल्लो गाउँ गएर बास बस्दै आएकी उनले शुक्रबार बस्ती नै पहिरोले लगेपछि भने ओतको अन्योल भएको बताइन । ‘सरकारले जनतालाई मरेपछि मात्रै देख्ने रहेछ, त्यतिबेला ठाउँ सारिएको भए यत्रो घटना नै घट्दैनथ्यो,’ उनले भनिन् ।