दाङका कृष्णबहादुर हत्या प्रकरण : ‘नक्कली फेसबुक बनाएर दुःख दिएपछि हत्या गरेँ’
दाङ, २७ साउन ।
दाङ घोराही उपमहानगरपालिका वडा नं. १२ हापुरे घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् ।
अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।
ती महिलालाई प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनले हत्या गरेको साबिती वयान दिएको प्रहरीले जनाएको छ । हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् । यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलाभित्र भेटिएको थियो ।