९६ प्रतिशत खेतमा धान रोपाइँ सकियो
दाङ, १५ साउन ।
देश भरका अधिकाशं भूभागमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय माताहतको देशभरका विभिन्न इकाईले पठाएको विवरण अनुसार १३ लाख ११ हजार २ सय ९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
कुल धान रोपाइँ योग्य जमिनको ९५.६० प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । उच्च पहाडमा ४४ हजार ९ सय एक हेक्टर, पहाडमा तीन लाख १७ हजार ४ सय २४ तथा तराईका ९ लाख ४८ हजार ९७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
गत वर्ष यो अवधिमा करिब ११ लाख हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । समयमै मनसुन सक्रिय हुँदा र रोपाइँ गर्ने जनशक्ति गाउँमा प्रशस्त हुँदा यस वर्ष रोपाइँ छिटो भएको मन्त्रालयले जनाएको छ ।
अनुकुल मौसमका कारण खाडेरीले धानको बिउ सुक्नेजस्तो विगतको अवस्था नआएको मन्त्रालयले जनाएको छ । समयमै रोपाइँ हुँदा उत्पादन पनि बढ्ने मन्त्रालयले विश्वास छ । छिटो रोपाइँ हुँदा कृषि उत्पादन चक्र पनि सुधारिने मन्त्रालयको विश्वास छ ।