स्थायी कमिटी बैठक नरोक्ने, बहुमतले निर्णय गरेर जाने

काठमाडौं, १२ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यले स्थायी कमिटीको बैठक नरोक्ने र बहुमतकै आधारमा निर्णय गरेर जाने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बिहान बसेको अनौपचारिक बैठकले मंगलबार बिहान ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक नरोक्ने, अर्का अध्यक्ष केपी शर्मा ओली सहमतिमा नआए बहुमतकै आधारमा निर्णय गरेर जाने निष्कर्ष निकालिएको एक सदस्यले जानकारी दिए । ‘भोलिबाट स्थायी कमिटी बैठक सुचारु हुन्छ,’ ती सदस्यले भने,‘ओली सहमतिमा नआए बहुमतका आधारमा पनि निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने अनौपचारिक निष्कर्ष निकालिएको छ । बैठकले निर्णय गर्छ । त्यसमा द्विविधा छैन ।’

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि सोमबार बिहान अनौपचारिक छलफल भएको र स्थायी कमिटीको बैठक अघि बढाउने समझदारी भएको जानकारी दिए । नेकपाको जारी स्थायी कमिटीको बैठकमा बहुमत सदस्यले ओलीलाई दुवै पद छाड्न दबाब दिएपछि त्यसपछिका बैठक लगातार स्थगित गरिँदै आएको छ । नेताहरुबीचको अनौपचारिक छलफलमा पार्टी एकता कायमै राख्नका लागि ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने अडान इतरसमूहको छ । स्थगित बैठक मंगलबार बिहान बोलाइएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर