दाङमा आज मात्रै कोरोना संक्रमित जिल्ला बारासहित बिभिन्न स्थानबाट ५४ जना भित्रिए
तुलसीपुर, २७ वैशाख ।
दाङमा शनिबार मात्रै कोरोना संक्रमित जिल्ला बारासहित बिभिन्न स्थानबाट ५४ जना भित्रिएका छन् । बाँके, कपिलबस्तु तथा रुपन्देहीमा कोरोना संक्रमित भेटिएपछि दाङ भित्रिने नाकामा कडाई गरिएको भएपनि दैनिक संक्रमित भेटिएका जिल्लाबाटै मानिशहरु भित्रिने क्रम जारी छ ।
शनिबार बबई गाउँपालिकाका ५४ जना भित्रिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर खड्काले बताए । उनका अनुसार भित्रिएका उनीहरुलाई बबई गाउँपालिकाकै क्वारेन्टाईनमा राखिएको छ ।
गाउँपालिकामा ११ वटा मात्रै बेड छन् । यस अघि क्वारेन्टाइनमा ९ जना राखिएको थियो । बाँकी दुईवटा मात्रै बेड थिए । तर एकैपटक ५४ जना आउँदा ब्यबस्थापनमा समस्या भएको उनको भनाई छ ।
उनीहरु सबैको स्वाब संकलन गरि पीसीआर विधीबाट परीक्षण गर्ने तयारी भएको उनले बताए । यसो गरेमा सबै जनाको एक÷दुई दिनमा परीक्षण गरेर घर पठाउन सकिने बताए । जिल्लाका अन्य क्वारेन्टाइन मध्ये बबई गाउँपालिका कम्जोर देखिएको छ ।
यसैबीच जिल्लामा शुक्रबार मात्रै बाराबाटै ४१ मजदुर भित्रिएका थिए । उनीहरुलाई तुलसीपुर, बबई, शान्तिनगरलगायतका क्वारेन्टाईनमा राखिएको छ । उनीहरु इट्टा उद्योगमा मजदुरी गर्नकलागि बारा गएको बुझिएको छ ।