उद्दार गरियो चित्तल, भागबन्डा नमिलेपछि घटना बाहिरियो
सुरेश श्रेष्ठ
दाङ, ११ वैशाख ।
डिभिजन वन कार्यालय दाङको टोलीले चित्तलको उद्दार गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १५ पतकौली स्थित घडेरीडाँडा सामुदायिक वन क्षेत्रबाट बिहीबार दिउँसो चित्तलको जिवितै उद्धार गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।
डिभिजन प्रमुख ज्ञवालीका अनुसार नदी उकास क्षेत्रमा बृक्षरोपण गरी वन कायम भएपछि लकडाउनका समयमा गाउँनजिकै रहेको वनमा चर्न आएको चित्तललाई गाउँका युवाहरुले सिकार गर्ने क्रममा घाइते बनाएको अवस्थामा चित्तलको उद्दार गरिएको हो ।
स्थानीय दुई गाउँका युवाहरुले चार वटा कुकुरको प्रयोग गरेर चित्तललाई लखेटिलखेटि मार्न लागेको भन्ने सुराकी पाएपछि डिभिजनल वन अधिकृत ज्ञवालीको नेतृत्वमा गएको टोलीले चित्तललाई फेला पारेर ल्याएको छ ।
दुई गाउँका युवाहरुले चित्तललाई पक्राउ गरेको र उक्त चित्तल मारेर लगाइने भागबण्डाको बिषयमा बिवाद भएपछि चित्तल नियन्त्रण गरिएको घटना बाहिर आएको थियो । टोलीले चित्तललाई नियन्त्रणमा लिएर सामुदायिक वन भवनको कोठामा थुनेको अवस्थामा फेला पारेको थियो । उद्दार गरिएको चित्तललाई अहिले डिभिजन वन कार्यालय दाङको उद्धार कक्षमा राखि औषधी उपचार शुरु गरिएको छ । घटनामा संलग्न भएकाहरुको खोजी कार्य तिव्र पारिएको कार्यालयले जनाएको छ ।