दाङमा ‘सुरक्षित यात्रा’ कार्यक्रम शुरु
शरद रेग्मी
तुलसीपुर, १० फागुन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सुरक्षित यात्रा कार्यक्रम सुरु गरेको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका– ५ स्थित नयाँ बसपार्कमा गाडी चालकलाई फुलको माला र खाँदा ओढाएर कार्यक्रमको शुभारम्भ गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेम प्रसाद रेग्मीले चालकहरुलाइ दुर्घटना न्यूनिकरणका उपाय सहित यात्रुमैत्रीसेवा प्रदान गर्न आग्रह गरे । ‘हवाइसेवामा एयर होस्टेजले जसरी यात्रुहरुलाइ ढुक्कसंगको यात्रा र मुस्कान छरिरहेका हुन्छन्, त्यसरी नै तपाइहरुले पनि मुस्कान सहितको यातायात सेवा दिनुहोला’—चालक र सहचालकलाई अभिमुखिकरण दिंदै रेग्मीले भने ।
साथै उनले यात्रा तय गर्नुअघि सवारीसाधनको स्वास्थ्य चेकजांच गरीनुपर्ने, मदिरा सेवन गरी सवारी नचलाउने, ओभरलोडको यात्रा नगराउने, ओभरस्पीडको यात्रा नगराउने, ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नुपर्ने विषयमा चालक र सहचालकलाइ सुझाएका थिए ।
सहचालकलाइ यात्रुहरुलाइ ढुक्क संग यात्रा गराउनकालागी तोकिएको समयमा खाना खुवाउने, खानाखाने स्थान र समयका विषयमा जानकारी गराउने तथा गन्तव्यमा पुग्ने समयका विषयमा पनि ढुक्क संग जानकारी गराउने विषयमा सुझाव दिए ।
अभियान अन्तर्गत ट्राफिक प्रहरी कार्यालय, ५ नंवर प्रदेश कार्यालय रुपन्देहीले जारी गरेको सुरक्षित यात्राका विभिन्न बुंदाहरु उल्लेख गरिएको पर्चा पम्प्लेट समेत यातायात व्यवसायीलाइ उपलव्ध गराएको थियो । सो पर्चामा सवारी चालकहरुलाइ अनुरोध, सभ्य नागरीकहरुलाइ अनुरोध, मोटरसाइकल चालक तथा साइकल चालकलाइ अनुरोध शिर्षकमा धेरै सुझावहरु उल्लेख छन् । ती सुझावहरु पालना गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गर्दै सनीवार तुलसीपुर बसपार्कमा फरक फरक रुटका चालकलाइ खादा ओडाएर सम्मान सहित सुरक्षित यातायात सेवाकालागी आग्रह गरेको थियो भने यात्रुहरुलाइ पनि आफुले पालना गर्ने सार्वजनिक यातायातका नितिनियमवारे जानकारी गराइएको थियो ।