अज्ञात रोगले दाङमा दुईसय भेडा मरे
दाङ, १७ माघ ।
दाङमा दुईसय भेडा मरेका छन् । अज्ञात रोगका कारण पूर्वी रुकुमका उत्तरी भेगबाट ल्याएका दुईसय भेडा मरेका छन् । पूर्वी रुकुमको भूमे गाउँपालिका वडा नं १ लुकुमका चार जना भेडापालक किसान पनि यो वर्ष भेडालाई चिसोबाट जोगाउन भन्दै आफूहरुले पालेका सयौँ भेडा बाख्रा साथमा लिएर मङ्सिर दोस्रो साता दाङतिर झरेका थिए ।
मङ्सिर १० गते रुकुमबाट हिँडेका उनीहरु पुस २९ गतेमात्रै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँच पोखरीमा आइपुगेको भेडा किसान प्रेमबहादुर पुनले बताए। करिब दुई महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हँुदै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँचपोखरीमा आएका थिउ । उनीहरुले रबाट आउँदा करिब ४०० बढी भेडा बाख्रा साथमा लिएर हिडेका थिए । भेडा किसान प्रेमबहादुर पुनका अनुसार उनले १२०, धर्म बुढाले पनि १२० वटा, धर्मकुमारी पुनका ११५ र रामकृष्ण पुनले ११५ वटा भेडा लिएर दाङ आएका थिए ।
चार सय बढी भेडा बाख्रा चराउन हिँडेका ती किसानको भेडाको अवस्था भने अहिले ठीक छैन । केही दिनयता अचानक भेडा मर्न थालेका छन् । बितेको दुई हप्तामा उनीसंगै रहेका भेडामध्ये करिब २०० बढी मरेका छन् । दैनिक सरदर १०÷१२ वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताए ।
भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ ।
पूर्वी रुकुममा हिउँपर्ने हुँदा त्यहाँ पशुपालक कृषक चिसो छल्न भन्दै आफ्ना पशु चौपायालाई बेंसीतिर झार्छन् । मङ्सिरको शुरुआतसँगै उनीहरुले आफूले पालेका चौपाया भेडा बाख्रालाई चिसोबाट जोगाउन र चराउन दक्षिणी भेगका ल्याउने गर्छन् ।
वगत वर्षमा उनीहरुले जिल्लाका दक्षिणी भेगमा बथान सारेर हिउँदभर राख्ने गरेकामा यो वर्ष चरन राम्रो हुने, चिसो धेरै नहुने हुँदा भेडालाई रामो हुने भन्दै दाङ झरेका थिए । तर, चरनका लागि दाङ ल्याएको २०० भेडा अज्ञात रोगले मरेका छन् ।
शुरुमा चिसोका कारण भेडा मरेको होला भनेर सामान्यरुपमा लिएको उहाँले बताउनुभयो तर अहिले भकाभक दिनमा १० वटासम्म मर्न थालेपछि भेडाको बथान नै सकिने होकी भन्ने पिरले सताएको उनको भनाई छ । उनीहरुले हाल भेडा चराउन राखेको स्थान पाँच पोखरी बस्तीभन्दा करिब ५०० मिटर पर जङ्गल क्षेत्र हो । भेडामा देखिएको समस्या समाधानका लागि उहाँहरुले स्थानीयलाई खबर गरे कसैले चासो नलिएको गुनासो गरे ।