गोरखाका विद्यार्थीले मन्दिरमा खानेपानी ट्याङ्की निर्माण गर्ने
तुलसीपुर, २९ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँमा रहेको गोरखा माध्यामिक विद्यालयका विद्यार्थीहरुले मन्दिरमा ट्याङ्की निर्माण गर्ने भएको छ ।
सोही वडाको वरपिपल टोलमा रहेको दुर्गा मन्दिरमा खानेपानीको ट्याङ्की निर्माण गर्ने भएका हुन् । मन्दिरमा खानेपानीको ट्याङ्की नहुँदा समस्या हुने गरेको भन्दै विद्यालयमा अध्ययनरत ‘प्लस टु’ ब्यबस्थापन संकायका विद्यार्थीहरुले निर्माणमा सहयोग गर्ने विद्यालयका प्रिन्सीपल बिजय जिएमले बताए । विद्यालयका व्यबस्थापन संकाय संयोजक डम्बर डाँगीका अनुसार बिगतका दिनमा पनि विद्यालयले सामाजिक काम गर्दै आएको र यस पटक पनि मन्दिरलाई सहयोग गर्न लागेको बताए ।
विद्यालयले किताबी ज्ञान मात्रै नभई सााजिक काममा पनि अग्रसर हुन प्रेरण दिनुपर्ने भन्दै आफुहरुले नियमित विद्यार्थीहरुलाई सामाजिक कामतर्फ पनि ध्यानाकर्षित गर्ने गरेको निमाबि संयोजक पूर्णबिक्रम डाँगीले बताए ।
बिद्यालयमा शुक्रबार एक कार्यक्रम गरि यस्तो जानकारी दिईएको हो । विद्यालयका प्रिन्सीपल बिजयमान जिएमको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा दुर्गा मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष बिष्णुकुमार देवकोटा, बरपिपल चौतारी टोल विकास संस्थाका उपाध्यक्ष लक्ष्मण धिताललगायतले विद्यालयले विद्यार्थीहरुलाई सामाजिक काममा अग्रसर गराउनु समाजकालागि उदाहरणीय कार्य रहेको बताएका थिए ।
विद्यार्थीहरुको ‘फाईन’बाट संकलन भएको रकमलाई उक्त सामाजिक काममा लगाउन लागिएको हो । कार्यक्रमको सहजीकरण ब्यबस्थापन संकाय संयोजक डम्बर डाँगीले गरेका थिए ।