प्रहरीद्वारा एक हजार लिटर बढी घरेल मदिरा नष्ट
घोराही, ८ कार्तिक
दाङको घोराहीमा एक हजार दुई लिटर घरेलु मदिरा नष्ट गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीको सक्रियतामा मदिरा नष्ट गरिएको हो ।
घोराही क्षेत्रका विभिन्न बस्तीबाट नियन्त्रण गरिएको घरेलु मदिरा सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीको रोहबरमा नष्ट गरिएको हो । अबैध रुपमा घरमै तयार पारिएको मदिरा नष्ट गरिएको हो ।
वडा प्रहरी कार्यालयले घोराही क्षेत्रका तुलसीपुर चोक, बसपार्क, गोर्खा टोल, रझेना चोकलगायतका बस्तीबाट मदिरा नियन्त्रणमा लिएको थियो । यसअघि मदिरा नियन्त्रणका लागि सक्रिय भएको वडा प्रहरी कार्यालयले पहिले पनि यत्ति नै मात्रामा मदिरा नष्ट गरेको थियो ।
मदिराले महिला हिंसा तथा समाजमा अनेक खाले समस्या निम्त्याएको भन्दै प्रहरीले घोराहीका विभिन्न बस्तीमा यसअघि पनि मदिरा नियन्त्रण तथा नष्ट गर्ने कार्य गर्दै आएको छ । मदिरा नष्ट गर्ने कार्यमा सहायक प्रमुख जिल्ला अधिकारी एमसीसंगै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराई, घोराही १५ का वडाध्यक्ष रमेश पाण्डेको पनि सहभागीता रहेको थियो ।