सिद्धान्त र विचारको राजनीतिमा फर्कौं: डा. चन्द्र भण्डारी

कोहलपुर चैत २८- नेपाली कांग्रेसका नेता माननीय डा. चन्द्र भण्डारीले वर्तमान परिस्थितिमा मूल्य र आदर्शको राजनीतिमा फर्कनु पर्ने जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस बांके क्षेत्र नं १ को तेस्रो क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । राजनीति अब सुविधा, पद र भागबण्डामा सीमित हुनु हुँदैन उनले भने, कांग्रेसको मूल आत्मा भनेको लोकतन्त्र, समाजवाद र राष्ट्रियताको त्रिवेणी हो ।

उनले, कार्यकर्ताहरूलाई पार्टीभित्र आत्मालोचना र आत्मसमीक्षाको संस्कार बसाल्न आग्रह समेत गरेका छन् । नेपालको वर्तमान राजनीतिक स्थितिलाई चिरफार गर्दै कांग्रेसभित्रको विचारगत विचलनप्रति चिन्ता व्यक्त गरेका छन् । यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति पोषण केसीले नेतृत्वलाई पदको रूपमा होइन, जिम्मेवारीको रूपमा हेर्ने सुझाव दिदै उनले भने आगामी निर्वाचनलाई ध्यानमा राख्दै संगठन सुदृढ बनाउने, युवालाई अग्रपंक्तिमा ल्याउने, र सबै तहमा पार्टीलाई विचार र व्यवहारमा जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरे ।

हामी कागजी संगठन निर्माण गरेर सन्तुष्ट हुने छैनौं, उनले भने गाउँ-गाउँमा कांग्रेसको विचार बोकेका अनुहारहरूलाई एकजुट गरेर फेरि एकपटक जनताको मन जित्ने लक्ष्य लिएर अगाडि बढेको बताए । उक्त सम्मेलनमा विभिन्न वडास्तरका प्रतिनिधि, महिला नेतृहरू, युवा कार्यकर्ता, भूतपूर्व जनप्रतिनिधि, विद्यार्थी संगठनहरू तथा पेशागत संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सभामा भएको वैचारिक छलफल, संगठनात्मक प्रतिवेदन र समसामयिक राजनीतिक विश्लेषणले सहभागीहरूमा नयाँ उत्साह दिएको थियो ।

कार्यक्रमले बाँकेको कांग्रेस संगठन अब रणनीतिक रूपमा फेरि बलियो बनाउने संकेत दिएको छ । बाँके क्षेत्र नं १ को यो सम्मेलनले समग्रमा नेपाली कांग्रेसलाई संगठनभित्रको आत्मासंवाद, नीतिगत स्पष्टता र नेतृत्वको विश्वास पुनःस्थापनाको सन्देश दिएको छ । यो अभियानलाई स्थायीत्व र विस्तार दिन सके, बाँके मात्र होइन, सिंगो देशमै कांग्रेसको नयाँ दिन सुरु हुन सक्छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर