नेपाल नामिबियासँग फेरि पराजित

काठमाण्डौ फागुन २८– वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नामिबियासँग फेरि पराजित भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो । नामिबियाले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रनमात्र बनाउन सक्यो । नेपालकी साना प्रवीनले सबैभन्दा धेरै ३१ रन बनाइन् । यस्तै कविता जोशीले नटआउट १७ रन जोडिन् । नामिबियाकी इभेलीन केजरुक्वाले २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । यो प्रतियोगिताकै सबैभन्दा धेरै रन हो । नामिबियाकी यास्मिन खानले ४५ रन बनाइन् । नेपालकी ईश्वरी विष्टले ३, रचनाकुमारी चौधरीले २ विकेट लिए ।

योसँगै शृङ्खलामा नेपालले ४ वटा खेलमा ३ वटा हारेको छ । नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । नेपालले भोलि युगान्डासँग र पर्सि हङकङसँग खेल्नेछ । नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर