२०औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

कोहलपुर, फागुन १३ — कोहलपुरस्थित डाइनामिक माध्यमिक विद्यालयको २०औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता विद्यालय सञ्चालक समिति अध्यक्ष ईश्वर प्रसाद पोखेलले गरेका थिए भने प्रमुख अतिथिको रूपमा कला सुवेदी, (शिक्षक अभिभावक संघ सदस्य) को रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कला सुवेदीले, “शिक्षा भनेको परीक्षा पास गर्ने माध्यम मात्र होइन, यो जीवनलाई सही दिशा दिने उज्यालो किरण हो । विद्यार्थीलाई पढाइसँगै सामाजिक उत्तरदायित्व र संस्कार सिकाउनु हाम्रो कर्तव्य हो। अभिभावक र विद्यालय दुवैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताइन् ।
यस्तै अध्यक्ष पोखरेलले “विद्यालय भनेको पाठ्यपुस्तकमा सीमित रहनु हुँदैन, विद्यार्थीलाई नैतिकता, अनुशासन र व्यवहारिक शिक्षासमेत प्रदान गर्न सक्ने केन्द्र हुनुपर्ने धारण राख्दै उनले अभिभावक र विद्यालयबीचको सहकार्यले मात्र विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्न सकिने बताए ।
विद्यालयका संस्थापक बाज प्रकाश शाहले विद्यालयको दुई दशक लामो यात्रामा सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूलाई धन्यवाद दिए । त्यस्तै, प्यावसन कोहलपुर नगर कमिटी अध्यक्ष रमेश के.सी.ले निजी विद्यालयहरूको भूमिकाबारे चर्चा गर्दै शिक्षाको गुणस्तर सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।
उक्त अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा रचनात्मक प्रस्तुति राखेका थिए । नेपाली संस्कृति, परम्परा तथा नैतिक शिक्षाको महत्वलाई उजागर गर्दै विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा अभिभावकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।