अमेरिकाले १,३६५ जना नेपालीलाई निष्कासन गर्ने
एजेन्सी माघ १६- अमेरिकाले १,३६५ जना नेपालीलाई आप्रवासी निष्कासन अभियानअन्तर्गत आफ्नो भूमिबाट निष्कासन गर्ने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भइरहेको आप्रवासी निष्कासन अभियान अन्तर्गत विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासी निष्कासनमा पर्ने भएका छन्।
अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार, यी १,३६५ जना नेपाली अमेरिकाबाट निष्कासन हुनेमा पर्छन्। यो सूचीमा अन्य देशहरूको स्थिति पनि समावेश गरिएको छ, जसमध्ये सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१, ग्वाटेमाला का २ लाख ५३ हजार ४ सय १३, र मेक्सिकोका २ लाख ५२ हजार ४४ जना रहेका छन्।
अमेरिकामा ३ लाखभन्दा धेरै नेपाली बासिन्दा रहेका छन्, जसमा २ लाख जनाले ग्रीन कार्ड र झन्डै ८७ हजारले नागरिकता प्राप्त गरेका छन्। ट्रम्प प्रशासनले पदभार ग्रहण गरेपछि अमेरिकाले अनधिकृत आप्रवासीहरूलाई समेटेर सामूहिक निष्कासनको प्रक्रिया तीव्र बनाएको छ।
यस अभियानको क्रममा अमेरिकाले अनधिकृत आप्रवासीहरूलाई फिर्ता गर्न विभिन्न कदम उठाइरहेको छ, जसमा सिमाना क्षेत्रमा सैनिक तैनाथ गर्ने निर्णयसमेत समावेश छ।