एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि, पुलिसलाई ४-० ले हराउँदै

काठमाण्डाै माघ १६,– नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) ले एन्फा महिला लिगको उपाधि जितेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा एपीएफको शानदार प्रदर्शन थियो, जसमा सबिता राना मगरले २ गोल, सरु लिम्बु र अनु लामाले १/१ गोल गरेर जित सुनिश्चित गरे।

एपीएफले अपराजित रहँदै लिगको उपाधि जितेको हो। यस जितसँगै एपीएफले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो, जबकि उपविजेता बनेको नेपाल पुलिस क्लबले ५ लाख रुपैयाँ पुरस्कार जितेको छ।

महिला लिगमा सुरुमा १० वटा टोली प्रतिस्पर्धामा थिए, र सिङ्गल राउन्ड पछि शीर्ष ५ टोली सुपर लिगमा प्रवेश गरेका थिए। एपीएफ शीर्ष स्थानमा रहँदा, आर्मी दोस्रो, पुलिस तेस्रो, र बाग्मती युथ क्लब चौथो स्थानमा रहन सफल भएका थिए। पाँचौं स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष ४ टोली प्लेअफमा पुगेका थिए।

यसै बीच, एपीएफकी खेलाडी तथा राष्ट्रिय फुटबल टोलीकी पूर्वकप्तान अनु लामाले एन्फा महिला लिगको समाप्तिसँगै घरेलु फुटबलबाट सन्न्यासको घोषणा गरिन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर