नयाँ मौसमी प्रणाली भित्रिँदै, काठमाण्डौसहित पूर्वमा पानी नपर्ने
काठमाण्डौ माघ ९, – नेपालमा आज बेलुका नयाँ मौसमी प्रणाली भित्रिन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय हुने यो प्रणालीको असर सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । नयाँ प्रणालीले आज राति र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।
यो प्रणालीको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना सामान्यतया नरहेको मौसमविद् मानन्धरले बताउनुभयो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाण्डौ र पूर्वमा छिटपुट बादल लागे पनि बदली र वर्षाको सम्भावना छैन । नयाँ प्रणाली सक्रिय हुँदा गण्डकीदेखि सुदूरपश्चिमसम्मको तापक्रम घट्न सक्छ ।
यसपालि माघ पहिलो हप्ता बितिसक्दा पनि धेरैजसो ठाउँमा हिउँदे वर्षा भएको छैन । हिउँदमा भित्रिएका सबैजसो प्रणाली गण्डकी प्रदेश र त्योभन्दा पश्चिममा मात्रै सीमित भएका छन् । पश्चिममा पनि पर्याप्त पानी परेकै छैन । हिउँ नपर्दा सेतै हिउँ हुनुपर्ने माघ महिनामा पनि हिमाल कालै छन् ।
यस्तै सामान्यतया माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपालि माघको पहिलो हप्ता नै चिसो धेरै घटिसकेको छ । हिउँद सुक्खा हुँदा हिउँदे बालीमा प्रत्यक्ष असरसँगै स्रोतमा पानी घट्ने, डढेलोको जोखिम, वायु प्रदूषणलगायतका समस्याहरू आउने जलवायु विपद् विज्ञ डा। धर्मराज उप्रेतीले बताउनुभयो ।