एनपीएलमा जनकपुरविरुद्ध अभद्र नारा लगाउनेमाथि कारबाही गर्न मधेशी आयोगको सिफारिश
काठमाण्डौं पुष ७, – मधेशी आयोगले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सप्रति लक्षित गर्दै अभद्र र अपमानजनक नारा लगाउने व्यक्तिहरूमाथि कारबाही गर्न सरकारलाई सिफारिश गरेको छ।
आयोगले एनपीएलको क्वालिफायर-२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा एउटा उद्दण्ड र अराजक समूहले जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको भन्दै तत्काल कारबाही गर्न सिफारिश गरेको हो। आयोगले यस किसिमको अभद्र व्यवहार गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन र संवेदनशील बन्न सरकारसँग अपिल गरेको छ।
यसैबीच, सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सको खेलपछि मधेशी समुदायका खेल समर्थकहरूलाई लक्षित गर्दै नश्लीय व्यवहार गरिएको भन्दै जनमत पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रंगभेदी क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न जनमत पार्टीले गृह प्रशासनसँग माग गरेको छ।
त्यसैगरी, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि जनकपुर बोल्ट्सका समर्थकप्रति नश्लीय र साम्प्रदायिक व्यवहार गर्ने व्यक्तिहरूलाई तत्काल कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले यी किसिमका हरकतहरू कुनै पनि बहानामा स्वीकार्य नहुने बताउनुभयो।