महिलाहरूको सामूहिक पहलले सकारात्मक परिवर्तन ल्याउछ : लुम्बिनी प्रदेश सभा सदस्य अधिकारी
कोहलपुर मंसिर २१– “महिलाहरूको सामूहिक पहल र संघर्षले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्याउने लुम्बिनी प्रदेश सभा सदस्य बसन्ति अधिकारीले बताएकी छिन् । संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संस्थाको प्रगतिको प्रशंसा गर्दै, महिला सशक्तिकरण र सामाजिक समानताको महत्वलाई जोड दिएकी छिन् ।
संस्थाले अहिले सम्मका उपलब्धिहरूलाई नयाँ उचाइमा पुर्याउन महिलाहरूको आर्थिक स्वतन्त्रता र सशक्तिकरणमा अझ बढी ध्यान दिन आवश्यक रहेको सनको भनाई रहेको छ ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायतले संस्थाको उपलब्धिलाई समुदायको समृद्धिको संकेतको रूपमा लिएको बताउदै यो संस्थाले दलित महिलाहरूको जीवनमा स्थायीरूपमा परिवर्तन ल्याउन योगदान पुर्याएको छ । यहाँका सदस्यहरूले सामूहिक प्रयास र एकता मार्फत आर्थिक र सामाजिक प्रगति हासिल गरेका उनले बताए ।
संस्थाका कोषाध्यक्षले टिका कुमारी विकले संस्थाको १८ वर्षको कार्यकालको उपलब्धिहरू र यस वर्षको आर्थिक प्रगतिको विस्तृत प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
उक्त प्रतिवेदन अनुसार, संस्थाले ९ करोड २२ लाख ५ हजार ६ सय ९६ रुपैयाँको आर्थिक प्रगति हासिल गरेको छ । आर्थिक वृद्धिले संस्थाका सदस्यहरूलाई थप समृद्धि र आत्मनिर्भरता हासिल गर्न थप अवसरहरूको सिर्जना गरेको छ ।
संस्थाले आगामी वर्षमा सदस्यहरूको लागि नयाँ योजना, बचत कार्यक्रम र अन्य लाभकारी योजनाहरू प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ । उक्त अवसरमा संस्थाले ६ जना बचतकर्तालाई सम्मान पनि गरेको थियो ।
साधारण सभामा संस्थाका सदस्यहरूले आगामी वर्षका लागि विभिन्न योजनाहरूको कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने अठोट व्यक्त गरेका छन् । महिला सदस्यहरूको सशक्तिकरण र समाजमा समान अवसरको सृजना गर्ने उद्देश्यले आगामी दिनमा थप योजनाहरू सञ्चालन गर्ने प्रस्ताव गरियो ।