बाँकेमा कुष्ठरोगको जोखिम बढ्दै, साइनिङ अस्पतालले निःशुल्क उपचार सेवा प्रदान गर्दै
कोहलपुर , मङ्सिर ७ – बाँके जिल्लाको जानकी गाउँपालिका–३ मा रहेको साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०-०८१ मा १७,००० भन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ। यसका साथै, साइनिङ अस्पतालले कुष्ठरोगका बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएको छ, जसमा १२२ जना कुष्ठरोगी भर्ना भएर उपचार प्राप्त गरेका छन्।
अस्पताल प्रमुख मङ्गल थारुका अनुसार, २०८०-०८१ को आर्थिक वर्षमा १४६ जना कुष्ठरोगीको निदान गरिएको थियो, जसमा बाँकेका ८४ जना, बर्दियाका २४, भारतका २१, र अन्य जिल्लाका १२ जना रहेका छन्। यस अस्पतालले विशेषगरी जटिल कुष्ठरोगका बिरामीहरूको निःशुल्क उपचार गर्दै, एक देखि डेढ महिनासम्म अस्पतालमा भर्ना गरेर सेवा प्रदान गरिरहेको छ।
अस्पतालको शास्त्रीय निदान र छाला सम्बन्धी सेवाहरूका कारण विभिन्न जिल्लाबाट बिरामीहरूले सेवा लिएका छन्, तर बाँके र पश्चिम नेपालका अन्य क्षेत्रहरूमा अझै कुष्ठरोगको जोखिम कायम रहेको छ। थारुका अनुसार, कुष्ठरोगका केसहरू बाँके जिल्लाका खजुरा, डुडुवा, नरैनापुर र नेपालगन्ज क्षेत्रमा बढी देखिएका छन्।
हालको अवस्थामा दातृ निकायबाट अनुदानमा आएको घटबढ र स्वास्थ्य चौकिहरूमा औषधिको नियमित आपूर्ति नहुनुले बिरामीलाई थप समस्यामा पारिरहेको छ। सरकारद्वारा दिइने यातायात खर्चमा पनि कमी आएको छ, जसले बिरामीहरूको उपचारको क्रममा थप कठिनाइ सिर्जना गरिरहेको छ।