नेपालगन्जको हडिया बाबा मन्दिर परिसरमा मेलाको तयारी पुरा
कोहलपुर कात्तिक २८ – बाँकेको नेपालगन्जको फुलटेक्रास्थित हडिया बाबा मन्दिर परिसरमा लाग्ने ५९ औं वार्षिक मेला र रामलिलाको तयारी पुरा भएको छ । मन्दिर व्यवस्थापन समितिले बुधबार आयोजित पत्रकार सम्मेलनमा यस वर्षको मेला र धार्मिक कार्यक्रमहरूको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल बैश्यका अनुसार, यो मेला पछिल्लो ५८ वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको छ र यस वर्ष मेला सोमबार, मंसिर २ गतेबाट सुरु हुने बताइएको छ। मेला ६ दिनसम्म चल्नेछ ।
बैश्यले जानकारी दिए अनुसार, मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ८ सयभन्दा बढी साधु-सन्तहरूको आगमन अपेक्षित छ । “गत वर्ष साढे ७ सय साधु-सन्तहरू आए थिए, यस वर्ष ८ सयभन्दा बढी आउने अनुमान छ,” उनले भने। मेला अवधिभर साधु-सन्त र भक्तजनहरूलाई भण्डारा वितरण गरिनेछ र रामलिलाको धार्मिक नाटक मञ्चन गरिनेछ ।
हर वर्ष कार्तिकी स्नान मेलाको तेस्रो दिन हडिया बाबा मन्दिर परिसरमा मेला लाग्ने परम्परा रहेको छ, र यस वर्ष पनि मेला हडिया बाबाको वार्षिक पुण्यतिथीको अवसरमा आयोजना गरिँदैछ। “गत वर्ष मंसिर १३ गते हडिया बाबाको पुण्यतिथी परेको थियो भने यस वर्ष मंसिर २ गते सोमबार परेको छ,” अध्यक्ष बैश्यले बताए।
मेलामा कुल खर्च लगभग २५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ, जसको अधिकांश खर्च भक्तजनहरूले भण्डारा र अन्य आयोजक खर्चका रूपमा दिनेछन्। मन्दिर व्यवस्थापन समितिले भने ४ लाख ५० हजार रुपैयाँ खर्च गर्ने जनाएको छ। मेला बेलुका ७ बजेदेखि राती १२ बजेसम्म सञ्चालन हुनेछ।
हडिया बाबा मन्दिरको ऐतिहासिक र धार्मिक महत्व रहेको बताउँदै अध्यक्ष बैश्यले भने, “यहाँ आएर भाकल गर्ने प्रत्येक व्यक्तिको इच्छा पूर्ति हुने विश्वास गरिन्छ।”
पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
रामलिलाको कार्यक्रम मंसिर २ गतेदेखि सुरु हुनेछ र यस क्रममा विभिन्न धार्मिक नाटकहरू प्रदर्शन गरिनेछन् । कार्यक्रमको विस्तृत विवरण यस्तो छ :
- मंसिर २ गते: रुद्री पूजा
- मंसिर ३ गते: श्रीराम जन्म
- मंसिर ४ गते: कालिया नाग नाथन
- मंसिर ५ गते: सुदामा चरित्र
- मंसिर ६ गते: मीरा चरित्र
- मंसिर ७ गते: धनुष यज्ञ