बाँकेमा यस वर्ष एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन


कोहलपुर कात्तिक ५- बाँके जिल्लामा यस वर्ष एक लाख ५० हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ । सुरुदेखिनै अनुकूल मौसम र समयमा रोपाइँ भएकाले यस वर्ष विगतभन्दा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले यस वर्ष जिल्लामा किसानका लागि सुरुदेखिनै मौसम अनुकूल भएको र बिचमा बाढी आएर धान नोक्सानी पनि नभएकोले धानको उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो । उहाँले अहिले धान भित्र्याउने कार्य तीव्र रूपमा भइरहेकोले उत्पादनको तथ्याङ्क आउन केही समय लाग्ने भए पनि गत वर्षभन्दा करिब १५ प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको बताउनुभयो ।

धानको उत्पादन मापन गर्न ‘क्रस कटिङ’को विधि अनुसार तथ्याङ्क आउनुपर्ने जनाउँदै कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख घिमिरेले दसैँअघि नै त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो । “हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिनुहुन्छ, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ”, उहाँले थप्नुभयो ।

जिल्लाको ३५ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ । यस वर्ष प्रति हेक्टर कम्तीमा ४।३ मेट्रिकटन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । सो अनुसार यस वर्ष बाँके जिल्लामा १ लाख ५० हजार ५०० मेट्रिकटन भन्दा बढी धान उत्पादन हुनेछ ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ वैजापुर निवासी हरेराम चौधरीले गत वर्ष भन्दा यस वर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने देखिएको बताउनुभयो । उहाँले समयमा नै पानी परेको र समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने निश्चित रहेको जनाउनुभयो ।

उत्पादन बढ्ने देखिएपछि किसानहरू निकै खुसी देखिएका छन् । जिल्लाका अधिकांश किसानले सरकारले समयमै राम्रो मूल्य निर्धारण गरेर धान खरिद गर्नु पर्नेमा जोड दिएका छन् ।

उनीहरूले सरकारले धान खरिदमा ढिलाइ गर्दा किसानले बाध्य भएर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नु परेको गुनासो गरेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर