दाङमा मनसुन विपत्तिले २ करोडको क्षति, १३ जनाको मृत्यु

दाङ, असोज १६ – दाङमा गत तीन महिनामा मनसुनजन्य विपत्तिबाट १३ जनाको मृत्यु भएको छ र करिब २ करोड ४९ लाख रुपैयाँको क्षति पुगेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार, जेठ २८ गतेदेखि असोज १४ गतेसम्म बाढी, पहिरो र डुबानलगायतका घटनाहरूले यति ठूलो क्षति गरेको हो।

आकस्मिक घटनाहरूमा सबैभन्दा बढी ८ जना बाढीमा बगेर मृत्यु भएका छन्। चट्याङ् लागेर ३ जनाको र सर्पदंशका कारण २ जनाको मृत्यु भएको जानकारी प्रमुख शम्भु आचार्यले दिएका छन्।

जिल्लामा विभिन्न स्थानमा १६६ घरमा क्षति पुगेको छ। अधिकांश परिवार पहिल्यै विस्थापित भएका छन्। राहतका लागि आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रभावित परिवारलाई क्षति अनुसार १५ देखि ५० हजारसम्म र मृतकका परिवारलाई १ लाख रुपैयाँको राहत प्रदान गरेको छ।

विपद् व्यवस्थापन कोषबाट २ महिनामा १४ लाख ४० हजार रुपैयाँ राहत वितरण गरिएको छ। घोराहीमा २६ परिवारलाई ३ लाख ७५ हजार, तुलसीपुरमा १४ घरपरिवारलाई ३ लाख ८० हजार, लमहीमा ५ परिवारलाई ६५ हजार र राजपुर गाउँपालिकामा ७ परिवारलाई ४ लाख ७० हजार रुपैयाँ राहत प्रदान गरिएको छ।

साउन महिनामा मात्र ५९ घर परिवारका लागि ८ लाख ४० हजार रुपैयाँ राहत वितरण गरिएको छ। बंगलाचुली गाउँपालिकामा ५ परिवारलाई ७५ हजार, शान्तिनगर र बबई गाउँपालिकामा २-२ परिवारलाई ३०-३० हजार र दंगीशरण गाउँपालिकामा १ परिवारलाई १५ हजार रुपैयाँ राहत दिइएको छ। स्थानीय निकाय र सरकारको राहत कार्यले प्रभावित परिवारहरूको जीवनमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर