लुम्बिनी प्रदेशमा बाढीपहिरोबाट एक करोड ४३ लाख बराबरको क्षति


दाङ असोज १५, – लुम्बिनी प्रदेशमा बितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपियाँ बराबरको क्षति भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटनामा एक करोड ४३ लाख बराबरको क्षति भएको छ ।

असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना भएका छन् । यो अवधिमा अधिक वर्षा, पहिरो, बाढी तथा डुबानका घटना भएका हुन् । विपदमा परेर ३ जनाको मृत्यु, २ जना घाइते र एक जना बेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेले जानकारी दिनुभयो ।

बाढीमा परेर रुपन्देहीमा दुई जना र पानीमा डुबेर बाँके जिल्लामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षति भएको छ । तीन वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । सात वटा गोठमा पनि क्षति पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो ।

लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा तुलनात्मक रुपमा क्षति कम भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् अघि, विपदको बेलामा र विपद् पछिको अवस्थालाई ध्यानमा राखेर प्रतिकार्यका योजना अघि बढाउन निर्देशन जारी गर्नुभएको थियो । सोही अनुसार समुदाय, प्रहरी प्रशासन र स्वयंसेवकहरु परिचालन भएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर