नेपालगन्ज १० किमी नाइट रनको टिसर्ट सार्वजनिक

कोहलपुर असोज २ – नेपालगन्ज म्याराथनको प्रीवेन्टका रूपमा आगामी असोज ३ गते राति आयोजना हुने नेपालगन्ज १० किमी नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ। कार्यक्रमको उद्घाटन नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषद्का सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष राजेन्द्र शाही र आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्त रूपमा गरेका छन्।

टीएस ठकुरीले म्याराथनको एक दशकको यात्राबारे जानकारी दिँदै, नाइट रनपछि ५ गतेदेखि साप्ताहिक रन सुरु हुने जानकारी दिए। साप्ताहिक रनको अवधिमा उत्कृष्ट धावकलाई पुरस्कृत गरिनेछ, जसमा एक सय हप्ता पूरा गर्ने धावकलाई अन्तर्राष्ट्रिय म्याराथनमा अवसर प्रदान गरिनेछ।

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङको नेतृत्वमा बाँके जिल्ला एथलेटिक्स सङ्घले सहकार्य गर्नेछ। म्याराथनका वरिष्ठ सदस्यहरू हृदयकृष्ण मास्के, चन्द्रबहादुर राना, सुनिल विष्ट, सुमन बस्नेत र गगन थापाले भोलन्टियर सेवामा सहयोग गर्नेछन्।

असोज दोस्रो हप्तादेखि स्कुल र कलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ, जसको नेतृत्व चाहना शाहले गर्नेछिन्। कात्तिकमा हुने गौघाट ग्रिन रन र मङ्सिरमा हुने दीप प्रज्वलन कार्यक्रमका संयोजकहरूको जिम्मेवारी पनि तोकिएको छ।

म्याराथनको दशौं वर्षगाँठको अवसरमा मङ्सिर २० र २१ गते म्याराथन एक्स्पो र नेपालगन्ज कनक्लेव आयोजना गरिनेछ, जसमा विभिन्न व्यक्तिहरूलाई दशक रत्न सम्मान प्रदान गरिनेछ। मङ्सिर ५ का दिनको सम्झनामा हरेक मङ्सिरको पहिलो शनिबार नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर