राजीनामाको तयारीमा लुम्बिनीका मुख्यमन्त्री


कोहलपुर बाँके श्रवण ७, केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा अन्ततः राजीनामा दिने निष्कर्षमा पुगेका छन् । आज दिउँसो बोलाइएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महराले राजीनामा घोषणा गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

राजीनामा दिने तयारीअनुसार सभामुख तुलाराम घर्तीले प्रदेशसभाको चौथो अधिवेशनको २४औं बैठक आज आइतबार दिउँसो १ बजेका लागि बोलाएका छन् । मुख्यमन्त्रीले पठाएको पत्रमा भने ‘विश्वासको मत लिने प्रयोजनका लागि’ भन्ने उल्लेख रहेको छ ।

मुख्यमन्त्री महराले समेत विश्वासको मत लिनेगरी निवेदन दर्ता गराएका छन् । प्रदेशसभाका सदस्यहरूलाई सूचना गर्दा पनि सम्भावित कार्यसूचीमा ‘विश्वासको मत लिने प्रयोजनका लागि’ भन्ने जनाइएको छ ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले पहिले दर्ता भएको निवेदनका आधारमा सम्भावित कार्यसूचीमा विश्वासको मत लिने सूचना गरिएको तर मुख्यमन्त्री महराले चाहेमा त्यो प्रस्ताव फिर्ता लिएर राजीनामा दिन पाउने ठाउँ रहेको बताउँछन् ।

‘हामीलाई प्राप्त सूचनाका आधारमा सूचना गरेका हौं, यसअघि तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि अन्तिममा यस्तो प्रस्ताव फिर्ता लिएर राजीनामा दिनुभएको थियो, मुख्यमन्त्रीले चाहेमा अहिले पनि त्यो स्पेश छ’, उनले भने ।

उनले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषद्मा कार्यविभाजन गरी पुनर्गठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची पनि रहेको बताए ।

मुख्यमन्त्री महरालाई पार्टी र प्रदेश प्रमुखबाट पनि छिटो राजीनामा वा विश्वासको मत प्रक्रियामा जान दबाब बढिरहेको छ । माओवादी स्रोतका अनुसार पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालसहित केही नेताहरूले स्पष्ट अल्पमतमा परेपछि राजीनामा दिनु नै उपयुक्त हुने सुझाव दिइरहेका छन् ।

तर, माओवादीकै केही नेता र प्रदेश सभा सदस्यले कांग्रेस नेतृत्वमा सरकार बनेमा राजीनामा दिने र एमाले नेतृत्वमा बन्ने अवस्थामा विश्वासको मतमै जाने सुझाव दिइरहेका छन् । एमालेले दुई पटक मुख्यमन्त्री महरालाई भेटेर राजीनामा दिएर सहयोग गर्न आग्रह गरिसकेको छ ।

सबैको सुझावअनुसार सम्भवतः आज आइतबार नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर मुख्यमन्त्री महराले राजीनामा दिने मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महरालाई समर्थन गरेको नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएको छ । त्यस्तै असार ९ गते जनता समाजवादी पार्टी नेपालकी सांसद अम्बिका काफ्लेले समर्थन फिर्ता लिएकी थिइन् ।

लुम्बिनी प्रदेशमा एमालेका २९ जना सदस्य छन् । कांग्रेसका २७ जना छन् । दुई दलको मात्र जोड्दा ५६ जना पुग्छ । ८७ जना सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेश सभा सदस्य आवश्यक पर्छन् । ठूला दलले सरकार बनाउने भएपछि प्रदेशका राप्रपा, नागरिक उन्मुक्ति, लोसपा, जनमत, जसपा, जसपा नेपाल लगायतका दलले पनि एमाले कांग्रेसको सरकारलाई समर्थन गर्ने जनाएका छन् ।

अल्पमतमा परेका मुख्यमन्त्री महराको समर्थनमा अहिले माओवादीका १०, नेकपा एसका एक र राष्ट्रिय जनमोर्चाका एक गरी १२ सदस्य मात्र छन् । एक स्वतन्त्रले अझै निर्णय लिएका छैनन् ।

महरा मुख्यमन्त्रीबाट बाहिरिने निश्चित भए पनि एमाले र कांग्रेसमध्ये कसले प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने औपचारिक सहमति बाहिर आएको छैन । एमाले लुम्बिनी प्रदेशसभाको पहिलो दल हो । एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले एमाले संसदीय दलका नेता लीला गिरी नै मुख्यमन्त्री हुने गरी तयारी भइरहेको जानकारी दिए ।

तर, एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले एक पटक सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेका छन् । कांग्रेसका नेताहरूले पनि लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्नेगरी दबाब बढाएको छ । कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारको नेतृत्व कांग्रेसले गर्नु स्वाभाविक भएको तर यहाँको निर्णयले मात्रै केही नहुने स्वीकार गरेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर