पत्रकारको सुरक्षा पत्रकारले गर्न पर्छ –अध्यक्ष बस्नेत


कोहलपुर बाँके असार २७, पत्रकारिता पेशालाई बद्नाम हुनबाट रोक्ने जिम्मा पत्रकारकै भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बाताएका छन् । नागरिकबाट पत्रकारिताका बिषयमा प्रश्न उठ्न थालेकोतर्फ सचेत गराउँदै उनले प्रश्न उठ्ने अवस्था आउन नदिन पत्रकार आफैले मेहनत गर्ने बेला आएको बताएका हुन् ।

नेपालगञ्जमा बुधबार प्रेस काउन्सिल नेपालको आयोजनामा ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ बिषयक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले मुलधारका संचार माध्यममा काम गर्ने पत्रकारहरु समय सापेक्ष आफूलाई परिवर्तन गरेपनि पत्रकारिताको परिधि भित्र रहेर काम गर्न आग्रह गरे ।

कतिपय पत्रकारहरुले गरेको कर्मका कारण नेपालमा पत्रकारिता माथि प्रश्न उठिरहेको बताउदै उनले पत्रकारले आफ्नै कर्मको समीक्षा गर्न जरूरी रहेको औंल्याए । सुचना प्रबिधिले ठुलो फड्को मारेको उल्लेख गर्दै उनले पुरानै धर्रामा रहेर मिडिया चलाउन सकिने अवस्था नरहेको स्पष्ट पारे ।
संबिधानतः राज्यले प्रेस काउन्सिल गठन गरे पनि सहज वातावरणमा काम गर्ने अवस्था नरहेको उनले बताए । ‘सरकारले काउन्सिललाई तलव खा र चुपचाप बस भन्ने जस्तो ब्यवहार देखाई रहेको छ ।’ उनले भने ।

लोककल्याणकारी विज्ञापनका नाममा करोडैं रूपैयाँ अपारदर्शी ढंगले बितरण भईरहेको अध्यक्ष बस्नेतको आरोप छ । उनले सरकारी निकायबाट कहिँकतै दर्ता नभएका, अनलाईन र सामाजिक सञ्जाललाई करोडौं भुक्तानी भएको बताउँदै त्यस विरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।
अध्यक्ष बस्नेतले पछिल्लो समय युट्युबले समाजमा प्रभाव पारिरहेको चर्चा गर्दैै त्यसलाई नियमन गर्न काउन्सिलले प्रयास गरिरहेको जानकारी दिए ।

काउन्सिल लगायतका नियमनकारी निकायमा दर्ता भएका मिडियाहरुबाट सञ्चालनमा रहेका युट्युबहरुको अभिलेख राख्ने गरिएपनि ब्यक्तिगत संचालनमा रहेका युट्युबलाई कानुनको दायरामा ल्याउन नसकिने उनले जिकिर गरे ।

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य पत्रकार शरद अधिकारी र नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले युट्युब, स्थानीय मिडिया र सामाजिक सञ्जालको समाजमा रहेको प्रभावका बारेमा अवधारणा प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ बाँके शाखाले संयोजन गरेको कार्यक्रममा शाखाका कार्यबाहक अध्यक्ष संगीन शर्माले स्वागत गरेका थिए । कार्यक्रममा बाँकेका करिब दुई सय बढी पत्रकारको सहभागिता थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर