४ हजार ५ सय २४ जनालाई भरतपुर महानगरले निःशुल्क तालिम दियो

काठमाण्डौ असार २,– भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षमा चार हजार पाँच सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगारसम्बन्धी तालिम दिएको हो ।

महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौसी खेती, पञ्चेबाजा बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिइएको छ । यस्तै प्लम्बिङ, कृषि, बेकरी, सर्फ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेक्लेश तथा चुरा बनाउने, ड्राइभिङ, एड्भान्स सिलाइकटाइ, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउने लगायतका तालिम पनि दिइएको छ ।

तालिमहरू एक दिनेदेखि चार महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ । श्रमलाई उत्पादनसँग जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिएको बताउनुभयो । तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको उहाँको भनाइ छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर