बाँकेका नयाँ सिडिओ र एसपीको प्रशंसा


कोहलपुर बाँके कार्तिक १२

नेपालगन्जमा धार्मिक तनाव उत्पन्न भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओं ) र प्रहरी प्रमुख (एसपी) सरुवा भए ।

अप्ठ्यारो अवस्थामा कमजोर ‘कमान्डसिप’ देखाएको भन्दै नागरिकस्तरबाट दुवै जनाको चर्को आलोचना गरिएको थियो । तालुकवाला निकायले दुवै जनालाई तानेपछि बाँकेमा नयाँ सिडिओ बनेर श्रवणकुमार पोखरेल र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ९एसपी० बनेर सुवासचन्द्र बोहरा आएका छन् ।

उनीहरूले असोज २८ गते कार्यभार सम्हालेका थिए । कार्यभार सम्हालेको करिब दुई सातामै सिडिओ र एसपीले अब्बल ‘कमान्डसिप’ देखाएको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा वाहवाही गरेका छन् । विशेष गरी सदैव संवेदनशील मानिने दुर्गामाताको मूर्ति विसर्जन कार्यक्रममा गरेको चुस्तदुरुस्त सुरक्षा बन्दोबस्तीको मूल्यांकन गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकभरि प्रशंसा गरेका हुन् ।

सामाजिक विषयवस्तुमा चासो प्रकट गर्दै आएका नेपालगन्जका युवा चाटर्ट एकाउन्टेन्ट ९सीए० तेजप्रकाश दीक्षित भन्छन्, ‘शान्ति सुरक्षा कायम गर्नु प्रहरी, प्रशासनको जिम्मेवारीभित्र पर्छ । कसैले त्यो जिम्मेवारी इमानदारितापूर्वक निभाउँछन् कसैले निभाउँदैनन् । मेरो विचारमा अहिलेको नयाँ प्रशासन र प्रहरीको नेतृत्वपंक्तिले केही गर्न खोजेको देखिन्छ । यसले निरन्तरता पाउनुपर्छ ।’

पदभार सम्हालेको करिब एक सातामा बाँकेमा प्रमुख जिल्ला अधिकारी पोखरेलले केही देखिने काम गरेका छन् । उनी जिल्लामा आएलगत्तै नौबस्तास्थित क्षेत्रीय कारागार सञ्चालनलाई तीव्रता दिए ।

सद्भाव कायम गर्नका लागि सरोकारवाला पक्षसँग निरन्तर संवाद गरे । तीन महिनादेखि अलपत्र रहेको ट्राफिक लाइट सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुखलगायतका जनप्रतिनिधिसँग छलफल गरेर सञ्चालनको वातावरण बनाइदिए ।

नरैनापुर जस्ता सदरमुकामबाट टाढा रहेका पालिकामा पुगेर त्यहाँको अवस्था बुझिरहेका छन् । ‘दसैँको समयमा उहाँहरूले गरेको सुरक्षा व्यवस्थाले जनतामा पक्कै पनि आशा जगाएको छ,’ नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी भन्छन्, ‘अहिले उहाँहरूको ध्यान दसैँको सुरक्षा व्यवस्था गर्नमै केन्द्रित थियो । अब जिल्लामा हुने तस्करी, अवैध धन्दा नियन्त्रणमा कसरी काम गर्नहुन्छ त्यसबाट असली मूल्यांकन हुन्छ । यो मानेमा विगतका प्रहरी, प्रशासकहरू बदनाम भएको रेकर्ड छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलको सकारात्मक पक्ष भनेको उनी सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सर्वसाधारणसँग संवाद गर्छन् । महासंघका अध्यक्ष भण्डारी यो कुराको प्रशंसा गर्दै भन्छन्, ‘यसले प्रशासन र जनताबीचको दूरी घटाउन सहयोग पुग्छ ।’

बाँकेमा जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायण डाँगीले समेत सूचना संयन्त्रलाई प्रभावकारी बनाएका छन् ।

संवेदनशील जिल्ला भएकाले बाँकेमा आउने प्रहरी अधिकारी र प्रशासकहरू उच्च क्षमताको हुनुपर्छ । तर कतिपयले यहाँको संवेदनशिलतालाई नबुझेर काम गर्दा समस्या आउने गरेको छ । बाँकेका हालका सिडिओ र एसपीले संवेदनशिलतालाई बुझेर काम गरेको देखिएको छ ।

असोजको अन्तिम साता कार्यभार सम्हालेलगत्तै दलहरूको सुझाव टिपोट गरेपछि नयाँ सिडिओ र एसपीले कानुन कार्यान्वयनमा कुनै प्रकारको सम्झौता नगर्ने प्रस्टरूपमा बताएका थिए । जुन नतिजामा देखिन थालेको छ । सिडिओ पोखरेलले त्यसबेला भनेका थिए, ‘बाँकेका सबै नागरिकलाई स्पष्ट शब्दमा भन्न चाहन्छु, कानुन कार्यान्वयनमा कुनै प्रकारको सम्झौता हुनेछैन । जुन कुरा बोलेर होइन रिजल्टबाट यहाँहरूले थाहा पाउनुहुनेछ ।’

एसपी बोहराले राजनीतिक दल मात्र नभई सबै पक्षले अपराधीलाई संरक्षण नदिने भनी गरेको प्रतिबद्धताले हौसला दिएको उल्लेख गर्दै भनेका थिए, ‘कानुन कार्यान्वयनका सवालमा कसैलाई टाढा र नजिक नबनाएर काम गर्छौं ।’ एसपी बोहराले आफ्नो स्वभाव अरूसँग मीठो बोलीबचन गर्ने भए पनि कानुन कार्यान्वयनमा खरो रहेको बताउँदै भनेका थिए, ‘म मीठो बोल्छु तर कानुन कार्यान्वयनमा खरो छु, रिजल्ट हेर्नुहोला ।’

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर