कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन बन्दै, भोलि शिलान्यास

नेपालगन्ज, बाँके असोज ९ ।

‘लो भोल्टेज’ र जथाभावी विद्युत जाने समस्याले नेपालगन्जका नागरिक प्रभावित हुँदै आएका छन् भने उद्योगहरू पनि ‘फुलफेज’मा सञ्चालन हुन पाइरहेका छैनन् ।

विद्युतको यस्तो समस्या समाधान गर्न कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन आयोजना सञ्चालन गरिँदै छ ।

डेढ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको शिलान्यास यही असोज १० गते ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले गर्ने कार्यक्रम रहेको आयोजनाका प्रशासनिक प्रमुख नवराज भट्टले जानकारी दिए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहनेछ ।

उक्त आयोजनाअन्र्तगत जानकी गाउँपालिका–५, बकसपुरमा सबस्टेसन निर्माण गरिने छ भने १३२ केभीको १० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिने इन्जिनियर उत्सव थापाले जानकारी दिए । तीन वर्षभित्र निर्माणको काम सक्ने योजना रहेको छ भने उक्त काम सम्पन्न गर्न पावर चाइना सेपको नामक कम्पनीले ठेक्का पाएको छ ।

‘यो काम सम्पन्न भइसकेपछि नेपालगन्जमा जुन खालको विद्युत समस्या छ त्यो समाधान हुन्छ । उद्योगीहरूमा देखा परेको विद्युत समस्या पनि हल हुने गरी यो आयोजना बन्न लागेको हो,’ इन्जिनियर थापाले भने । नेपालगन्जमा अहिले लो भोल्टेज र जथाभावी विद्युत जाने समस्याले सर्वसाधारण मर्कामा परेका छन् ।

उद्योगहरू पनि यसको मारमा परेका छन् । विशेष गरी औद्योगिक हबका रूपमा विकास भइरहेको गनापुरका उद्योगहरू धेरै प्रभावित छन् । उक्त ठाउ“मा रहेको अम्बे स्टिल उद्योग अवलोकन गर्न आएका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिसिङले केही समयअघि विद्युत समस्या समाधान गर्ने गरी योजना बनाउने घोषणा गरेका थिए । दुई वर्षअघि नै उनले गरेको घोषणा कार्यान्वयन हुन लागेको हो ।

उद्योग, कलकारखाना खुल्ने क्रम बढे पनि विद्युतलगायतका पूर्वाधार नबन्दा सञ्चालन कठिनाइ भइरहेको निजी क्षेत्रको तर्फबाट बारम्बार गुनासोहरू आइरहन्छन् ।

त्यसलाई सम्बोधन गर्न सुरु हुन लागेको आयोजना समयमै सम्पन्न गर्नुपर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले बताए । ‘हामीले वर्षौदेखि उठाउ“दै आएको माग सुनुवाइ हुन लागेको खबरले म ज्यादै खुसी छु,’ उनले भने, ‘आशा छ यो काम समयमै सम्पन्न हुनेछ ।’

यो प्रसारण लाइन निर्माण भएपछि भारतको नानपारामा निर्माणाधीन अन्तरदेशीय प्रसारण लाइनमा जोडिने सम्भावना रहेको छ । त्यसो भएमा नेपालगन्ज र भारतबीच पश्चिममा विद्युत व्यापारको सम्भावना खुला रहनेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर