कोहलपुरका चिकित्सक पनि आन्दोलनमा

नमस्ते दाङ मिडिया संवाददाता
कोहलपुर बाँके असोज

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू चिकित्सकमाथि भएको हातपातको विरोधमा उत्रिएका छन् । विभिन्न नारा लेखिएका पम्पलेट बोकेर आइतबार उनीहरूले कोहलपुरमा विरोध प्रदर्शन गरेका हुन् ।

डाक्टरमाथि भएको हातपातको विरोधस्वरुप नेपाल चिकित्सक संघले देशव्यापी रूपमा आयोजना गरेको विरोध कार्यक्रममा एक्येबद्धता जनाउँदै विरोध कार्यक्रम गरिएको चिकित्सकहरूले जनाएका छन् ।

नेपाल चिकित्सक संघले ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्णरूपमा बन्द गर्न आह्वान गरेको थियो जसअनुसार हिजो कोहलपुरमा पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको थियो ।

मेडिकल कलेजका चिकित्सकहरू ‘काँपेको हातबाट उपचार हुन सक्दैन’, ‘कहिलेसम्म डाक्टरले कुटाइ खानुपर्ने रु’ ‘मनले देश भन्छ देशले विदेश भन्छ’, ‘सेतो कोटमाथि भएको चोट, राज्यको डाक्टरलाई हेर्न दृष्टिकोणामै दोष’, जस्ता नारा लेखिएका पम्पलेट बोकेर विरोधमा उत्रिएका थिए ।

चिकित्सकमाथि हातपात गर्नेहरूमाथि कारबाहीका लागि सरकारलाई दबाब दिन र आगामी दिनमा उनीहरूको सुरक्षाको ग्यारेन्टी होस् भन्नका निम्ति विरोध कार्यक्रम गरिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डाक्टर देवेन्द्र आचार्यले बताए ।

चिकित्सकहरूले विरोध प्रदर्शन गर्दै ७ बँुदे प्रेश विज्ञप्ति पनि सार्वजनिक गरेका छन् । जसमा दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन र सम्पूर्ण चिकित्सकहरूको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरिएको छ ।
भदौ २७ गते हेटौँडाको सन्चो अस्पतालका चिकित्सकमाथि सामूहिक आक्रमण भएको थियो । जसको विरोधस्वरुप देशभरिका चिकित्सकहरु आन्दोलित भएका थिए ।

विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब गर्न विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ पहिलो संशोधन २०७९ लाई अक्षरशः पालना गरिनुपर्ने, स्वास्थ्य जनशक्ति दिनप्रतिदिन रोगजारी तथा क्षमता अभिवृद्धिका लागि विदेशिन बाध्य भइरहेको अवस्थामा अविलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाका लागि आवश्यक कार्य अगाडि बढाउनुपर्ने माग गरिएको छ ।

घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ । दोषीलाई उन्मुक्ति दिन खोज्ने व्यक्ति तथा संस्थालाई पनि छानबिनको दायरामा ल्याई कारबाही गर्नुपर्ने चिकित्सकहरूको माग छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर