समुदायस्तरमा फैलियो इन्फ्लुएन्जा

कोहलपुर बाँके भदौ, नेपालगन्जस्थित भेरी अस्पतालमा पछिल्लो हप्तादेखि इन्फ्लुएन्जाका बिरामीको संख्या ह्वातै बढेको देखिन्छ । प्रयोगशालामा परीक्षण गरेकामध्ये ४० प्रतिशतको हाराहारीमा इन्फ्लुएन्जा पुष्टि हुन थालेको छ । चिकित्सकका अनुसार इन्फ्लुएन्जा समुदायस्तरमा फैलिरहेको छ । अस्पतालको बहिरंग सेवामा जाँच गराउन आउनेमध्ये ३०–३५ जनामा रुघाखोकीको समस्या देखिन्छ । त्यसमध्ये अधिंकाशमा इन्फ्लूएन्जा पुष्टि हुने गरेको छ ।

नेपालगन्ज ।

इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको संख्या बढ्दै गएपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । भेरी अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको संख्या बढ्न थालेको देखिएको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सनसमेत रहेका कन्सल्टेन्ट फिजिसियन डा।खगेन्द्रजंग शाहले जानकारी दिए ।

विगत दुई सातादेखि इन्फ्लुएन्जा हुनेक्रम बढेको उनको भनाइ छ । अस्पतालले उपचारका लागि आएका बिरामीमध्येबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउने गरेको छ । साप्ताहिक रूपमा पठाउने गरिएको नमुनामा इन्फ्लुएन्जा देखिनेक्रम बढ्दै गएको अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिए । इन्फ्लुएन्जाको संक्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिन्छन् ।

पछिल्लो हप्तादेखि इन्फ्लुएन्जाका बिरामीको संख्या ह्वातै बढेको देखिन्छ । परीक्षण गरेकामध्ये ४० प्रतिशतको हाराहारीमा इन्फ्लुएन्जा पुष्टि हुन थालेको छ । मौसम परिवर्तन हुने समयमा देखिने भएकाले बिरामी बढ्दोक्रममा रहेको प्रयोगशाला प्रमुख मिश्रले बताए ।

मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको संक्रमण हो । इन्फ्लुएन्जालाई बोलिचालीको भाषामा ‘फ्लु’ भनेर बुझिन्छ । हुन त यो समयमा मौसमी ‘फ्लु’ देखिनु सामान्य नै हो । सामान्यतः नेपालमा फागुन–चैत र साउन–भदौमा ‘फ्लु’ संक्रमण बढी देखिने गरेको छ । इन्फ्लुएन्जा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ ।

यो निकै संक्रामक हुन्छ । संक्रमित मानिसको श्वासप्रश्वासबाट सहजै फैलिन्छ । बिरामी नजिक जानु नै पहिलो जोखिम भएको डा। शाहको भनाइ छ । परिवारको एक सदस्यबाट अरूमा, स्कुल र होस्टलका विद्यार्थीमा एकअर्कोमा सर्ने जोखिम अत्यधिक हुने पनि उनको भनाइ छ । चिकित्सकका अनुसार यस समयमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुन्छ ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा।राजन पाण्डेले दैनिक रुघाखोकीका बिरामी उपचारका लागि आउने क्रम बढ्दो रहेको बताए । उनका अनुसार समुदायस्तरमा इन्फ्लुएन्जा फैलिरहेको छ । भेरी अस्पतालको बहिरंग सेवामा जाँच गराउन आउनेमध्ये ३०–३५ जनामा रुघाखोकीको समस्या देखिन्छ । त्यसमध्ये अधिंकाशमा इन्फ्लूएन्जा पुष्टि हुने गरेको छ ।

फ्लु निकै संक्रामक हुने र लक्षण देखिएका सबै व्यक्ति परीक्षणका लागि नआउने भएकाले संक्रमितको संख्या अस्पतालमा देखिएको भन्दा धेरै हुनसक्ने डा। पाण्डेको भनाइ छ । यो समय मौसमी बिरामी देखिनु सामान्य भए पनि संख्या धेरै हुनु असामान्य भएको उनको भनाइ छ ।

भाइरसको एउटा प्रकारलाई ‘इन्फ्लुएन्जा’ भनिन्छ । मौसम परिवर्तनमा हुने समयमा लाग्ने रुघाखोकी नै ‘इन्फ्लुएन्जा’ अर्थात मौसमी फ्लु हो ।
चिकित्सकका अनुसार इन्फ्लुएन्जा ए, बी, सी र डी गरी चार प्रकारका हुन्छन् । नेपालमा भने इन्फ्लुएन्जाका विभिन्न प्रकारमध्ये ए र बी बढी देखिने गरेको चिकित्सकहरू बताउँछन् । डा। पाण्डेका अनुसार इन्फ्लुएन्जा ए, बीको तुलनामा बढी संक्रामक र स्वास्थ्यमा जटिलता ल्याउने हुन्छ ।

फ्लुका कारण अचानक ज्वरो आउने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, नाकबाट पानी बग्ने, हाच्छ्यिुँ आउने, शरीर दुख्ने जस्ता लक्षण देखिन्छन् । त्यस्तै आँखाको नानी, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी बस्ने, श्वासप्रश्वासमा समस्या देखिने, बालबालिकामा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ ।

फ्लु संक्रमण हुँदा सुरुमा रुघा लाग्ने तथा भाइरसको संक्रमण कडा बन्दै जाँदा श्वासप्रश्वासमा समस्या निम्तिएर मानिसको मृत्यु पनि हुन्छ । फ्लुका लक्षण सामान्यतया ७ दिनसम्म रहने र बिस्तारै हराउँदै जाने चिकित्सकहरू बताउँछन् ।

मौसमी फ्लुले रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसलाई बढी असर गर्नेगर्छ । डा। पाण्डेका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, कुपोषित बालबालिका वा नियमित औषधि सेवन गर्ने बिरामीलाई फ्लुले बढी असर गर्छ ।

चिकित्सकका अनुसार यसको सबैभन्दा बढी असर दीर्घरोगी र ज्येष्ठ नागरिकमा भए पनि हिजोआज युवा र बालबालिकामा रुघाखोकी लामो समयसम्म रहने र छाती निरन्तर घ्यारघ्यार हुने नयाँ समस्या देखिएको छ ।

‘ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा फ्लु हुँदा निमोनिया देखिने सम्भावना बढी हुन्छ । यसले उनीहरूको स्वास्थ्यमा झन् जटिलता ल्याउँछ । अहिले अस्पताल भर्ना हुनेमा धेरैजसो दीर्घरोगी छन् । त्यसैले यो समूह बढी सतर्क र सुरक्षित रहनुपर्छ,’ डा। शाहको भनाइ छ ।

फ्लु लागेका मानिसहरूलाई अन्य लक्षणहरू ठीक भए पनि खोकी भने लामो समयसम्म रहिरहन सक्ने चिकित्सकहरू बताउँछन् । फ्लुको संक्रमण निको पार्ने विशेष औषधि छैन । फ्लु संक्रमित व्यक्तिमा संक्रमण कडा भएको अवस्थामा ‘ओसेलटेमिभिर’ नामक औषधि चलाइने चिकित्सकहरू बताउँछन् ।

तर जथाभावी एन्टिबायोटिक औषधि प्रयोग गर्नाले बिरामीलाई थप जटिलता निम्तने भन्दै चिकित्सकको सुझावबिना जथाभावी औषधि नखान डा। शाहले सुझाव दिए ।

पछिल्लो समय डेंगी र स्क्रबटाइफसका बिरामी पनि देखिएका छन् भने कोरोनाका बिरामी पनि देखिएका छन् । रुघाखोकी लामो समयसम्म रहेमा स्वास्थ्य परीक्षण नगराई घरमा नबस्न डा। पाण्डेको सुझाव छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर