मणिवाला सर्प भन्दै ठगी गर्ने एक जना पक्राउ

दाङ ११ माघ ।

दाङमा मणिवाला सर्प भन्दै सुन र नगद ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका-३ का ३५ वर्षीय मोहमद सलमान रहेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

सलमानले गएको माघ ८ गते बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभर निवासी एक महिलालाई मणिवाला सर्प हो भनी लोभलालच देखाएर उनीबाट एक तोला सुन र नगद एक हजार रुपैया लगेको प्रहरीले बताएको छ ।

मणि नक्कली भएको थाहा पाएपछि ति महिलाले सलमानलाई फोन गरेर अरु मणी पनि खरिद गर्ने भनि लमही नगरपालिका ९ जलकुम्भीमा बोलाएकी थिइन् । पीडित महिलाको आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले सलमानलाई माघ ९ गते जलकुम्भीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सलमानलाई थप कार्वाहीका लागि बाँकेको प्रहरीलाई जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय अमिलियाका सहायक प्रहरी हवल्दार धनश्याम चौधरीले जानकारी दिए । उनीसँग आएका अनय दुई जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर