आज (शनिबार) धरहरा उद्घाटन
काठमाण्डौ
११ बैशाख/
६ वर्षअघि भूकम्पले ढालेको धरहराको टावर बनाउने काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार)धरहरा उदघाटन गर्न लागेका हुन् । भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनेको छ ।
धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ । यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरा समेत बन्नेछ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
धरहराको उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने पाइने छैन । आउँदो मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी भएको पुनर्निर्माण प्राधिकरणका विज्ञ इञ्जिनियर राजुमान मानन्धरले जानकारी दिएका छन । उनका अनुसार धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ ।