आइतबारदेखि हेटौंडामा सवारी साधनमा जोर बिजोर प्रणाली
![](https://www.dangtvonline.com/wp-content/uploads/2021/04/download-2.jpg)
११ वैशाख, हेटौंडा ।
बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ ।
हेटौंडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै सवारीमा जोर बिजोर प्रणाली लागू हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौंडामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।
हेटौंडामा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँगै सङ्क्रमण बढ्न नदिन उक्त निर्णय लिइएको प्रशासनले बताएको छ ।
यस्तै सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ । कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।